इटहरी। मध्यपहाडी लोकमार्गमा पर्ने धनकुटाको महालक्ष्मी नगरपालिका–५, स्थित स्कुलडाँडामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
विराटनगरबाट शव लिएर भोजपुर जाँदै गरेको बा।प्र।०१–०२–००२ झ ६१९० नम्बरको एम्बुलेन्स आइतबार राति करिब १२ः३० अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा चालक भोजपुरको रामप्रसाद राई गाँउपालिका–८, बस्ने अन्दाजी २१ वर्षीय शक्ति राई र सोही ठाउँ बस्ने अन्दाजी ४६ वर्षीय रामनन्द राई घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार एम्बुलेन्स सवार चार जना रहेका थिए । तीमध्ये दुईजना घाइते भएका हुन् । घटनास्थलमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो । उक्त एम्बुलेन्स भोजपुरको रामप्रसाद राई गाउँपालिकाद्वारा सञ्चालित रहेको जनाइएको छ ।


