इटहरी स् झापाको कनकाई नगरपालिका–१ दुर्गापुर चोकमा ट्रक र विद्युतीय कार ९ईभी० एकापसमा ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते भएका छन्। दुर्घटनामा कार चालक प्रहरी वरिष्ठ नायव निरीक्षक ९वरिष्ठ सई० राधाकृष्ण दाहाल गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा शनिबार राति करिब ८ बजे भएको दुर्घटनामा दाहालको दुवै घुँडामा चोट लागेको छ। उनको नाकबाट समेत रगत आएको प्रहरीले जनाएको छ। विराटनगर निवासी दाहाल इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत छन्। कारमा सवार प्रहरी सहायक निरीक्षक ९सई० सुवास केसी पनि घाइते भएका छन्। विराटनगर घर भएका केसीको निधार र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पाँचथरको इलाका प्रहरी कार्यालय रविमा दरबन्दी भएका केसी पनि जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत छन्।

प्रहरीका अनुसार बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको बा ११ ख ३८४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र–०१–०३२ च ३६१९ नम्बरको ईभी कार दुर्गापुर चोकनजिक ठोक्किएका थिए। दुर्घटनामा ट्रकका दुई सहचालकसमेत घाइते भएका छन्। घाइते हुनेमा सुनसरीको रामधुनी नगरपालिका–५ का २० वर्षीय अश्विन श्रेष्ठ र २६ वर्षीय सुजन श्रेष्ठ छन्। उनीहरूको हातखुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते चारै जनाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१६ निवासी ३३ वर्षीय झकेन्द्र श्रेष्ठलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।