इटहरी । मोरङको पथरी शनिश्चरेमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकले भूमि, विद्युत् र सडक लगायतका पूर्वाधार सम्बन्धी समस्याबारे जनप्रतिनिधि तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ निर्वाचन क्षेत्र नम्बर ३ क्षेत्रीय समिति द्वारा पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा नागरिकले आफ्ना गुनासा प्रस्तुत गरेका हुन्। रास्वपा मोरङ–३ का सभापति कमल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सभापति हिक्मत कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथि जहरमान लिम्बूले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैँचाका नागरिकहरूले वर्षौंदेखि समाधान हुन नसकेका भूमिसम्बन्धी समस्या, अलपत्र पुल, कृषि, विद्युत्, सडक र स्वास्थ्य बीमाबारे जिज्ञासा राखेका थिए। नागरिकका सवालहरूको जवाफ दिँदै प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्त र स्थानीय पूर्वाधार विकास आयोजना इटहरीका प्रतिनिधि धीर कडेराले आ–आफ्नो कार्यक्षेत्रअनुसार समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। जनप्रतिनिधि तथा निकायहरूलाई नागरिकप्रति जबाफदेही बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।


