इटहरी। मोरङको उर्लाबारी नगरपालिका–७ बाघखोरस्थित भित्री सडक खण्डमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएकी छन् ।

सोमबार बिहान ७ः४० बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को १–०१–००२ च २३६७ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा उर्लाबारी नगरपालिका–७ निवासी ८९ वर्षीय कृष्णबहादुर कार्कीको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते हुनुभएका उहाँको अरनिको अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा बिहान ९ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा उर्लाबारी–७ निवासी ८२ वर्षीया रामकुमारी राई घाइते हुनुभएको छ । उहाँको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार दुर्घटनामा संलग्न कार उर्लाबारी ७ का ४१ वर्षीय योगराज कार्कीलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।