इटहरी। ड्राइभिङ स्कुल संघ नेपाल, कोशी प्रदेशको आयोजनामा बडादशैं, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा यातायात व्यवस्था कार्यालय इटहरीका वरिष्ठ शाखा अधिकृत सुवास कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक राजु निरौला, यातायात व्यवस्था कार्यालय इटहरीका सवारी चालक अनुमतिपत्र अधिकृत ज्ञानु पोखरेलको उपस्थिति रहेको थियो।
त्यसैगरी, ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल घिमिरे र केन्द्रीय उपाध्यक्ष बाबुराम प्रधानलगायतको विभिन्न ड्राइभिङ सङ्घका पदाधिकारी सदस्यहरू स्थानीय सञ्चारकर्मी प्रहरी प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ड्राइभिङ स्कुल संघ नेपाल कोशी प्रदेश उपाध्यक्ष योगेन्द्र कुमार पोखरेलले उपस्थितिलाई स्वागत गर्नुभएको थियो भने अन्य सहभागीले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा ड्राइभिङ सेन्टरका आजीवन सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
ड्राइभिङ स्कुल संघ नेपाल, कोशी प्रदेशका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चाडपर्वले आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो। साथै, यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकाय र ड्राइभिङ स्कुल सञ्चालकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सुरक्षित सवारी सञ्चालन तथा दक्ष चालक उत्पादनमा जोड दिनुपर्ने विषयमा समेत चर्चा गरिएको थियो।
संघका सचिव भूपेन्द्रबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूले बडादशैं, दीपावली, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।



