इटहरी। उत्पादन लागत घटाउने, बन्द उद्योग पुनः सञ्चालन गर्ने र निर्यातका लागि नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीतिगत व्यवस्था गर्न उद्योगीले सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीसँग उद्योग सङ्गठन मोरङको कार्यसमितिले गरेको छलफलमा उद्योगीले औद्योगिक विकासका लागि विद्यमान नीतिगत र प्रक्रियागत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नयाँ लगानी भित्र्याउन र सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न उद्योगमैत्री नीति आवश्यक रहेको बताउनुभयो । उहाँले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्न, औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिन र निजी क्षेत्रको मनोबल बढाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।
उहाँका अनुसार लगानीको वातावरण सुधार गर्न उद्योगीले भोगिरहेका समस्या सम्बोधन गर्नुका साथै उत्पादन लागत घटाउने उपाय अवलम्बन गर्नु पर्छ । यसले औद्योगिक उत्पादन र प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने छ । समितिका सभापति अन्सारीले उद्योग तथा व्यवसाय क्षेत्रमा देखिएका समस्या, उत्पादन लागत र लगानीको वातावरण सुधारका विषयलाई औद्योगिक विकाससँग जोडेर हेरिनुपर्ने बताउनुभयो । सभापति अन्सारीले उद्योगी व्यवसायीले उठाएका विषय र सुझावको अध्ययन गरी आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सङ्गठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले विभिन्न कारणले बन्द भएका उद्योग पुनः सञ्चालन गर्न सहज हुने नीतिगत व्यवस्था गर्न आग्रह गर्नुभयो । बन्द उद्योग सञ्चालनमा ल्याउन सके लगानीको उपयोग, उद्यमशीलताको संरक्षण र औद्योगिक गतिविधि विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ थियो । सङ्गठनका पूर्वअध्यक्ष सुयश प्याकुरेलले नेपाली उद्योगको उत्पादन क्षमता बढाउँदै निर्यातमुखी औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । छिमेकी मुलुकका ठुला बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो ।


