इटहरी। धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा ढुङ्गामा फसेका एक युवकको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको सहयोगमा सकुशल उद्धार गरिएको छ । मोरङको ग्रामथान गाउँपालिका–१ निवासी २९ वर्षीय अर्जुन सरदारको सोमबार राति उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रहरीका अनुसार दसैँ बिदामा घर जाने क्रममा मूलघाट निस्किन खोजेका सरदार पौडी खेलेर तमोर नदी पार गरेपछि बाटो नभेट्दा नदी किनारको ढुङ्गामा अलपत्र परेका थिए । नदी किनारमा मानिस फसेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीको कमान्डमा १५ जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, धनकुटाबाट प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहल तथा स्थानीय युवाको सहयोगमा वैकल्पिक बाटोबाट घटनास्थल पुगेर राति ११ बजे सरदारको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धारपछि सरदारलाई आफू कार्यरत समिनारायण कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि शिवनारायण यादवको जिम्मा लगाइएको थियो । सरदार रगुवा खोलास्थित पुल निर्माण कार्यमा संलग्न मजदुर हुन् ।

उद्धार कार्यमा धनकुटा नगरपालिका–८ घर भई हाल साँगुरीगढी गाउँपालिका–३ मा बस्दै आएका सुमन राई र सुरेश राई तथा साँगुरीगढी गाउँपालिका–३ का आर्यन याख्खा र दिनेश याख्खाले सहयोग गरेका थिए । प्रहरीले नदी तर्ने क्रममा सावधानी अपनाउन र अपरिचित स्थानमा जथाभावी नदी पार गर्ने प्रयास नगर्न आग्रह गरेको छ ।