इटहरी। दसैँ नजिकिँदै जाँदा नेपालीहरू नयाँ लुगा किन्ने, मिठा मिठा परिकार बनाउने र परिवारसँग भेटघाट गर्ने तयारीमा जुटेका छन् । घरआँगन सजाउने र रङरोगन गर्ने चटारो पनि बढेको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारका अग्निपीडितलाई भने यस वर्षको दसैँले खुसी ल्याउन सकेको छैन । आगलागीमा घर, पसल र बर्सौंको कमाइ गुमाएका उनीहरूलाई चाडपर्व मनाउनेभन्दा पनि कसरी सामान्य जीवनमा फर्किने भन्ने चिन्ताले सताएको छ ।
दोभान बजारमा छ वर्ष नपुग्दै दुई पटक भएको भीषण आगलागीले करिब ५६ करोड रुपियाँभन्दा बढीको क्षति पुर्याएको थियो । पछिल्लो पटक गत असोज ८ गते भएको आगलागीमा १० घर पूर्ण रूपमा जलेर नष्ट भए भने १६ परिवार प्रभावित भए । प्रारम्भिक विवरण अनुसार उक्त आगलागीबाट मात्रै करिब १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको छ । विगतका वर्षमा यतिबेला दसैँतिहारको तयारीमा व्यस्त हुने दोभानवासी यस पटक भने उजाडिएको व्यवसाय र गुमेको सम्पत्ति सम्झेर चिन्तित छन् । अग्निपीडित सारा लिम्बूलाई यस वर्षको दसैँ परिवारसँग रमाइलो गरी मनाउने धोको थियो तर आगलागीले उनको योजना मात्रै होइन, बर्सौंको मेहनतसमेत खरानी बनाइदियो । अहिले छिमेकीको आश्रयमा बस्नु परेको उहाँको भनाइ छ ।
अग्निपीडित श्यामलाल खरेललाई पनि दसैँको खुसीभन्दा परिवारको बास र दैनिक जीवनयापनको चिन्ता बढी छ । यद्यपि विपत्तिबिच पनि चाडपर्व मनाउने हिम्मत भने नहारेको उहाँ बताउनुहुन्छ । आगलागीको असर घर र व्यवसाय गुमाएका परिवारमा मात्रै सीमित छैन । दोभान बजारका सुनचाँदी व्यवसायीले ग्राहकबाट धितोका रूपमा राखेका गरगहनासमेत आगलागीमा गुमाएका छन् । यसले व्यवसायीलाई थप आर्थिक र नैतिक दबाबमा पारेको छ । अग्निपीडित अनुशा बराइलीलाई अहिले दसैँ मनाउनेभन्दा ग्राहकको धितो कसरी फिर्ता गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । राहतस्वरूप प्राप्त रकमबाट गुजारा चलाउने उहाँको सोच छ ।
दोभान बजारमा आगलागीको जोखिम न्यूनीकरण गर्न सुरक्षित पुनर्निर्माणमा जोड दिइएको छ । पहिलो आगलागीपछि गाउँपालिकाले बजारका घर निर्माणका लागि केही मापदण्ड तय गरेको थियो तर ती मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नहुँदा जोखिम कायमै रहेको मेरिङदेन गाउँपालिका–३, खाम्लुङका वडाध्यक्ष जगेन्द्रकुमार नाल्बोले बताउनुभयो । पहिले आगलागीबाट जोगिएका घरलाई समेत जोडेर पुनः निर्माण गरिएकाले जोखिम बढेको उहाँको भनाइ छ । लगातारको आगलागीले थलिएको दोभान बजारका बासिन्दाका लागि यस वर्षको दसैँ उत्सवभन्दा बढी पीडा र चिन्ता बनेको छ । अग्निपीडितको पुनस्र्थापना, सुरक्षित आवास र व्यवसाय पुनः सञ्चालनका लागि ठोस पहल हुन नसके उनीहरूलाई पुरानै लयमा फर्किन कठिन हुने देखिन्छ । तत्कालीन राहतसँगै दीर्घकालीन पुनस्र्थापना र आगलागीको जोखिम न्यूनीकरणमा ध्यान दिन सके मात्रै दोभानवासीको जीवनमा पुनः खुसी फर्किन सक्छ ।


