इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको राष्ट्रिय वन अतिक्रमणको चपेटामा परेको छ । एकपछि अर्को गर्दै निजी प्रयोजनका घरटहरा र सार्वजनिक संरचना तथा अन्य आयोजना कार्यान्वयनका क्रममा राष्ट्रिय वन अतिक्रमणको चपेटामा पर्दै आएको हो ।
हालसम्म यकिन तथ्याङ्क नभए पनि पाथीभराको वनक्षेत्र धेरै अतिक्रमण भएको छ । करिब तीन दशकभन्दा पहिलेदेखि नै पाथीभरा क्षेत्रको वन अतिक्रमण हुन सुरु भएको र राष्ट्रिय वन तथा सरकारी जग्गा अतिक्रमण हुने क्रम अहिले पनि रोकिएको छैन । पछिल्लो समय पाथीभरा क्षेत्रको काफ्लेपाटी, बलुडाँडा, गुराँसेलगायतका स्थानमा अतिक्रमण भइरहेको छ । फुङलिङ नगरपालिका–१०, फुरुम्बु र वडा नं। ११ फावाखोला अन्तर्गत रहेको पाथीभराधाम जाने पदमार्ग क्षेत्रको उक्त स्थानमा स्थानीयले वनक्षेत्र तथा सार्वजनिक जग्गा अतिक्रमण गर्न सुरु गरेका हुन् । हाल अतिक्रमण गर्न सुरु भएको स्थान मयामपातल सामुदायिक वन र पाथीभरा सिम्बु सामुदायिक वनक्षेत्रमा पर्छ । पाथीभरा पदमार्ग क्षेत्रको जग्गा अर्थात् वन अतिक्रमण गरी धमाधम घरटहरा निर्माण गर्न थालिएको छ ।
पाथीभरा पदमार्गको दायाँबायाँ क्षेत्र काफ्लेपाटीदेखि माथिल्लो फेदीभन्दा तल्लो भागसम्म वारपारको जग्गा कब्जा गरिएको शैलीमा अतिक्रमण गर्न सुरु गरिएको छ । उक्त क्षेत्रमा कतै घरटहरा निर्माण भइसकेको छ भने केही भागमा संरचना निर्माण, ठाउँ सम्याउने र पर्खाल लगाइएको छ । काठका बिम र लाथ्राको खम्बा ठड्याइएको छ । त्यस्तै अधिकांश स्थानमा काठका घोचा गाड्ने र डोरी तथा धागो टाँगेर घरटहरा निर्माण गर्ने गरी रेखाङ्कन गरिएका छन् ।
हालसम्म वनक्षेत्रको जग्गा अतिक्रमण गरी काफ्लेपाटीमा केही घर तथा संरचना निर्माण भइसकेको पाइएको छ । बलुडाँडाको तल्लो भाग र माथिल्लो भागमा पनि घरटहरा निर्माण गर्नका लागि घडेरी सम्याउने र रेखाङ्कन गर्ने काम सुरु भएको छ । लालीगुराँस, अँगेरी, खराने, उत्तिसलगायत विभिन्न प्रजातिका रुख, बोटबिरुवा र झाडी फँडानी गरेर संरचना निर्माण भइरहेका छन् । पाथीभरा क्षेत्रस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस काफ्लेपाटीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विराज कटुवालले माथिल्लो फेदीदेखि तल्लो भाग हुँदै काफ्लेपाटीसम्म नै वनक्षेत्रको जग्गा अतिक्रमण गर्न खोजिएको पाइएको बताउनुभयो । अतिक्रमण हुन थालेको भन्ने थाहा पाएपछि गरिएको अनुगमन र निरीक्षणका क्रममा वारपार १६० वटा संरचना निर्माण गर्ने गरी घडेरी सम्याउन थालिएको र रेखाङ्कन गरिएको भेटिएको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताउनुभयो । उहाँका अनुसार फुरुम्बुतर्फ एक सय र फावाखोलातर्फ ६० वटा संरचना निर्माण गर्ने गरी घडेरी अर्थात् ठाउँ बनाउन जग्गा रेखाङ्कन गरिएको छ ।
डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख डिभिजनल वन अधिकृत श्रीनारायण यादवले वनक्षेत्र अतिक्रमण हुन थालेको भन्ने खबर प्राप्त भएपछि तत्काल गतिविधि रोक्न पाथीभरा सबडिभिजन वन कार्यालय र सामुदायिक वनलाई पत्राचार गरेको बताउनुभयो । वनक्षेत्रको जग्गा अतिक्रमण गरी घरटहरा बनाउन सुरु गरिएको भए रोक्न र बनाइसकिएको भए हटाउन पत्राचार गरिएको डिभिजनल वन अधिकृत यादवले जानकारी दिनुभयो । अतिक्रमणका क्रियाकलाप नरोकिएमा कानुनी कारबाही सुरु हुने विषयमा सम्बन्धित पक्षलाई सचेत गराइएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयको चेतावनीपछि शुक्रबारदेखि गतिविधि रोकिएको पनि उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले पनि जग्गा अतिक्रमण भएको भन्ने खबर पाएपछि क्रियाकलाप रोक्न र निर्माण भएका संरचना हटाउनका लागि डिभिजन वन कार्यालयसँग समन्वय भएको बताउनुभयो । प्रजिअ दाहालले सुरक्षा समितिको बैठकसमेत बसेको र आवश्यक सुरक्षा प्रबन्धका सन्दर्भमा कमी हुन नदिने निर्णय भएको जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले भने वनक्षेत्र अतिक्रमणको क्रम नरोकिनु दुःखद भएको बताउनुभयो । अध्यक्ष ओझाले वन ऐन अनुसार वनक्षेत्र अतिक्रमण गर्न नहुने र अतिक्रमण भएमा हटाउनुपर्ने व्यवस्था भए पनि पाथीभरा क्षेत्र पहिलेदेखि नै अतिक्रमणको चपेटामा परेको बताउनुभयो । वनक्षेत्रमाथि हुने अतिक्रमण रोक्नका लागि डिभिजन वन कार्यालयसहितका निकायले पहल गर्नुपर्ने उहाँको भनाइ छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदी, गुराँसे, बलुडाँडा, काफ्लेपाटी, तेर्से, सेवारो चोक र देउरालीसम्म वनक्षेत्र अतिक्रमण गरी बसाइएका बस्ती हुन् । उक्त क्षेत्रमा यसअघिदेखि नै राष्ट्रिय वनक्षेत्र तथा सार्वजनिक जग्गा अतिक्रमण गरी करिब ४४ वटा घरटहरा निर्माण गरी होटेलसहितका व्यवसाय सञ्चालन गरिँदै आएको छ ।
पाथीभरा क्षेत्रमा विद्युतीकरण, खानेपानी योजना, पाथीभरा केबुलकारलगायतका योजना कार्यान्वयनका क्रममा वनक्षेत्रको अतिक्रमण तथा फँडानी हुँदै आएको छ । धर्मशाला, विश्रामस्थल, पाटीपौवा, विभिन्न पार्कलगायतका संरचना निर्माणका क्रममा पनि वनक्षेत्र विनास र अतिक्रमण भइरहेको छ । वनक्षेत्रमाथि निरन्तर हुँदै आएको अतिक्रमणले वनजङ्गल उजाडिनुका साथै पर्यावरण र वातावरणमा नराम्ररी असर पुगिरहेको संरक्षरण क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।


