इटहरी। सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेशहरूबिच विकास साझेदारी र सहकार्यका साझा आधार तय गर्ने उद्देश्यले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ मङ्गलबार विराटनगरमा सुरु भएको छ ।
कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन मुख्यमन्त्रीहरूले संयुक्त रूपमा गर्नुभयो । सम्मेलनमा प्रदेशहरूबिच समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग तथा साझा विकास योजनाका विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनको पहिलो दिन सातै प्रदेशका उपलब्धि र सफल अभ्यासबारे अनुभव आदानप्रदान गरिनेछ । सङ्घीयताको सबलीकरण, संस्थागत विकास तथा अन्तरप्रदेशीय आर्थिक साझेदारीका विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिने आयोजकले जनाएको छ ।
प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन, विकास साझेदारी तथा अन्तरप्रदेशीय समन्वयलाई प्रभावकारी बनाउने विषय सम्मेलनका प्रमुख कार्यसूचीमा छन् । यसैगरी, स्थानीय उद्योगी–व्यवसायीसँग उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम पनि छ । सम्मेलनको दोस्रो दिन प्रदेशहरूबिच विकास साझेदारी र सहकार्यका लागि साझा प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गर्ने तयारी छ । बिहान १० बजे मुख्यमन्त्रीहरूले घोषणापत्रमा हस्ताक्षर गर्ने तथा दिउँसो पत्रकार सम्मेलनमार्फत सम्मेलनका निष्कर्ष र भावी कार्यदिशा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।


