इटहरी स् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारले आफ्नो नाम जोडेर सार्वजनिक गरिएको अडिओ प्रकरणमा निष्पक्ष छानबिनका लागि सहयोग गर्न तयार रहेको बताएका छन्। उनले उक्त अडिओ कृत्रिम बुद्धिमत्ता ९एआई० लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबीसमेत गरेका छन्।

मंगलबार बिहान भिडिओ सन्देश जारी गर्दै सुनारले आफूविरुद्ध सार्वजनिक भएका आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गरेका हुन्। उनले छानबिनका क्रममा उठ्ने हरेक प्रश्नको जवाफ दिन र अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्। ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेपछि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडिओ सार्वजनिक गरिएको छ। आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन्। एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचार हुन्,’ उनले भनेका छन्।

आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै सुनारले भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूलाई निशाना बनाइएको दाबी गरेका छन्। ‘ममाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई हार्दिक अपिल गर्न चाहन्छु। भ्रष्टाचारविरुद्ध प्रश्न गर्दै गर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार र घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले भिडिओ सन्देशमा भनेका छन्।

उनले सार्वजनिक अडिओबारे फैलाइएका प्रचारबाट प्रभावित नहुन आम नागरिकलाई आग्रह गर्दै आफूमाथि हुने छानबिनमा सबै पक्षलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच, रास्वपाले पनि सांसद सुनारसँग सम्बन्धित विषयमा आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ। मंगलबार बिहानै पार्टीले आफ्नो दलबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनारका विषयमा अनुसन्धान थालिएको जानकारी दिएको हो। अडिओको वास्तविकता र त्यसमा गरिएका दाबीबारे भने सम्बन्धित निकायको छानबिनबाट पुष्टि हुन बाँकी छ।