इटहरी स् कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारबीचको सम्बन्धलाई बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन्।

मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा मन्तव्य राख्दै सभामुख विष्टले संविधानको पूर्ण कार्यान्वयन गर्दै प्रदेश सरकारलाई अधिकारसम्पन्न र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले प्रदेशसभालाई बलियो नबनाई प्रदेश सरकार प्रभावकारी हुन नसक्ने स्पष्ट पारे। प्रदेश सरकारले गरेका कामको निगरानी, मूल्यांकन र आवश्यक खबरदारी गर्न प्रदेशसभा तथा त्यसअन्तर्गतका समितिहरू सक्षम हुनुपर्ने उनको भनाइ थियो।

प्रदेश सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन प्रदेशसभाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै विष्टले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताए। तीनै तहका सरकारबीच आपसी सम्बन्ध सुदृढ भएमा मात्रै संविधानले परिकल्पना गरेको संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन सम्भव हुने उनको धारणा थियो।