इटहरी । इटहरी ब्याडमिन्टन क्लब इटहरी–५, सुनसरीको आयोजनामा ‘इटहरी उपमहानगरपालिका अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता २०८३’ सम्पन्न भएको छ ।
प्रतियोगितामा क्लबका सदस्यसहित करिब १०० जना खेलाडीको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष हरि तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी प्रमुख अतिथि र पूर्वअध्यक्ष एवं संरक्षक मणिराज गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमबारे बोल्दै क्लबका अध्यक्ष हरि तिम्सिनाले सदस्यहरूबीचको आपसी सम्बन्ध अझ गाढा बनाउन र खेलकुदप्रतिको रुचिलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। यस्ता प्रतियोगिताले ब्याडमिन्टन खेलको प्रवद्र्धनका साथै खेलाडीहरूको क्षमता विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतियोगिताको ए डिभिजनतर्फ जितबहादुर गुरुङ र विशाल लिम्बुको जोडी प्रथम भएको छ। यस्तै, जितेन्द्र सुवेदी र राकेश श्रेष्ठको जोडी द्वितीय तथा बियोन प्रधान र रुद्र गौतमको जोडी तृतीय भए। ए डिभिजनतर्फ जितबहादुर गुरुङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो। यसैगरी, बी डिभिजनतर्फ प्रेमबहादुर राई र दिल्ली पौडेलको जोडी प्रथम भएको छ। लेखनाथ राई र बबिन राईको जोडी द्वितीय तथा अशोक खत्री र अर्जुन ढुङ्गानाको जोडी तृतीय भए। बी डिभिजनको उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँ र ट्रफी प्रदान गरियो। प्रतियोगिताका दुवै डिभिजनका प्रथम, द्वितीय र तृतीय हुने जोडीहरूलाई क्रमशः नगद १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।


