इटहरी स्  उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ ।

करिब २० देखि २५ वर्ष उमेरको हात्ती मंगलबार मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा हात्ती मृत भेटिएको हो । एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको श्रेष्ठले बताए ।

हात्तीको मृत्युको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम गरिने उनले जानकारी दिए । आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले कोशीटप्पु वन्यजन्तु आरक्षले पोस्टमार्टम गर्नेछ ।