इटहरी । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले तेह्रथुममा सवारी चालकको लागूऔषध तथा मादक पदार्थ सेवन जाँचसँगै सवारी साधनको यान्त्रिक परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरी, जिल्ला प्रहरी कार्यालय तेह्रथुम र जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुरको संयुक्त समन्वयमा म्याङलुङ नगरपालिका–१ स्थित पेट्रोल पम्प नजिक सवारी चालकको मादक पदार्थ सेवन जाँच गरिएको हो । त्यसैगरी, जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर तथा यातायात व्यवस्था कार्यालय धनकुटाको संयुक्त पहलमा साना तथा ठूला सवारी साधनको यान्त्रिक परीक्षण समेत गरिएको छ ।
कार्यक्रम मार्फत चालकले लागूऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने अवस्थाको जाँच गर्नुका साथै सवारी साधनको यान्त्रिक अवस्था परीक्षण गरी सम्भावित दुर्घटना न्यूनीकरणमा जोड दिइएको छ । सवारी साधनको नियमित मर्मतसम्भार, ट्राफिक नियमको पालना र जिम्मेवार सवारी सञ्चालनले सडक दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सुरक्षित यात्राका लागि चालक स्वयं सचेत बन्नुका साथै सम्बन्धित निकाय र आम नागरिकले पनि सडक सुरक्षामा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक छ ।


