इटहरी । मोरङको याङ्शिलास्थित राष्ट्रिय सेवा दल (एनसीसी) पूर्वी तालिम शिक्षालयमा सञ्चालित जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक ‘क्लोज क्याम्प’ सम्पन्न भएको छ।
गत असोज ८ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त क्याम्प पूरा गरेका एनसीसी क्याडेटहरूलाई मंगलबार आयोजित एक विशेष समारोहका बिच दीक्षित गर्दै बिदाइ गरिएको हो। पूर्वी पृतनाका पृतनापति शक्तिजंग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दीक्षान्त समारोहमा श्री नम्बर २ बाहिनी अड्डाका सहायक रथी हरिश बहादुर बम, फिल्ड अस्पताल इटहरीका निमित्त कमान्डर, राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठ, अन्य पृतनापति, वरिष्ठ सैनिक अधिकारीहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। समारोहमा एनसीसी क्याडेटहरूले भव्य दीक्षान्त कवाज (परेड) प्रस्तुत गरेका थिए, जसको सलामी प्रमुख अतिथि बस्नेत तथा अन्य अतिथिहरूले ग्रहण गर्नुभएको थियो।
त्यसै गरी, क्याडेटहरूले खुकुरी ड्रिल, तेक्वान्दो, पीटी तथा एरोबिक्स लगायतका आकर्षक र कौशलपूर्ण कलाहरू प्रदर्शन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पृतनापति शक्तिजंग बस्नेतले एनसीसीको मूलभूत उद्देश्य र मर्मलाई आत्मसात् गर्दै तालिमका क्रममा सिकिएका ज्ञान, सीप र अनुशासनलाई व्यावहारिक जीवनमा उतार्न आग्रह गर्नुभयो। तालिमका क्रममा क्याडेटहरूको शारीरिक तथा मानसिक सबलता अभिवृद्धि गर्नुका साथै अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, आत्मनिर्भरता, राष्ट्रप्रेम र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्य राखिएको थियो।
झापा, मोरङ, सुनसरी, इलाम, भोजपुर, उदयपुर, खोटाङ, सिरहा, सप्तरी, धनुषा र सिन्धुली गरी विभिन्न जिल्लाका १८ वटा विद्यालयका एनसीसी क्याडेटहरूको सहभागिता रहेको सो तालिम तथा दीक्षान्त समारोहबारे राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका वरिष्ठ सुवेदार मिगेन्द्रप्रसाद दाहालले विस्तृत जानकारी गराउनुभएको थियो।


