इटहरी। इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ गाउँगाउँ पुगेर जनताका समस्या, गुनासा र सुझाव संकलन गरिरहेका छन्।
नेम्वाङ पछिल्लो समय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुँदै जनताका आवाज सुनिरहेका छन्। उनी करिब एक सातादेखि आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग भेटघाट गरिरहेका छन्। फाकफोकथुम गाउँपालिकाका विभिन्न वडादेखि देउमाई नगरपालिकाका विभिन्न स्थानमा पुगेर उनले मतदातासँग भेटघाट गरेका छन्।
उनले माई नगरपालिकामा आयोजित सामाजिक कार्यक्रममा समेत सहभागिता जनाएका छन्। इलाम क्षेत्र नम्बर २ का अन्य पालिकामा दसैँपछि भेटघाटका कार्यक्रम सञ्चालन गरिने नेम्वाङले बताएका छन्। नेम्वाङले स्थानीयका समस्या, विकास निर्माणका आवश्यकता र जनअपेक्षाबारे जानकारी लिइरहेका छन्।
पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत जनतामाझ पुगेका उनले दसैँपछि इलाम नगरपालिकाका विभिन्न क्षेत्रमा समेत मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको इलाम नगर कमिटी अध्यक्ष ठाकुरनारायण श्रेष्ठले बताए। भेटघाटका क्रममा नागरिकहरूले गाउँठाउँका समस्या, सडक, खानेपानी, विकास निर्माण तथा अन्य आवश्यकताबारे आफ्ना कुरा राख्ने गरेका छन्। नागरिकका गुनासा सुन्दै नेम्वाङले जनताका सबै माग तत्काल सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै क्रमशः सम्बोधन गर्ने प्रतिबद्धता जनाउने गरेका छन्।


