इटहरी । स्वर्गीय व्यक्तिको सम्झनालाई सामाजिक सेवासँग जोड्न सकियो भने उहाँको योगदान पुस्तौँसम्म जीवित रहन सक्छ। उदयपुरको बेलका नगरपालिका–९ रामपुरस्थित ज्योति आधारभूत विद्यालय भचुवामा स्थापना गरिएको गोविन्द बालुका छात्रवृत्ति कोषले यस्तै उदाहरण प्रस्तुत गरेको छ। कोषबाट सात जना विद्यार्थी पुरस्कृत भएका छन् भने विद्यालयलाई खेलकुद सामग्रीसमेत प्रदान गरिएको छ।
स्वर्गीय गोविन्द बस्नेतको स्मृतिमा स्थापना गरिएको गोविन्द बालुका छात्रवृत्ति कोषबाट सात जना विद्यार्थी पुरस्कृत भएका छन्।असोज २९ गते आयोजित कार्यक्रममा कक्षा २ देखि ८ सम्मका प्रथम विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो। कक्षा २ का रिजन राई, कक्षा ३ की लेन्सा विक, कक्षा ४ का प्रशान्त विक, कक्षा ५ का न्युसन राई, कक्षा ६ का जिनेन्द्र कामी, कक्षा ७ की निर्जला विक र कक्षा ८ की कोमल राई पुरस्कृत भएका हुन्। कार्यक्रममा विद्यालयलाई थप खेलकुद सामग्री पनि प्रदान गरिएको थियो।
गोविन्द बस्नेतको २०७९ साल असोजमा निधन भएको थियो। उनको सम्झनामा जेठा छोरा धनेन्द्र बस्नेतले एक लाख रुपैयाँको गोविन्द बालुका छात्रवृत्ति कोष स्थापना गरेका हुन्। सामान्य परिवारमा जन्मिएर पढाइका क्रममा आफूले धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै धनेन्द्रले बुबाले दिएको हौसलाले आफूलाई अघि बढ्न प्रेरित गरेको बताए। शिक्षाकै कारण आफू अन्तर्राष्ट्रिय स्तरको संस्थामा पुग्न सफल भएको उल्लेख गर्दै उनले शिक्षाको महत्त्व बुझेकै कारण छात्रवृत्ति कोष स्थापना गरेको बताए। विद्यालयकी प्रधानाध्यापक सुरेसमाया राईले छात्रवृत्ति कोषलाई सामुदायिक विद्यालयका लागि अनुकरणीय कार्य बताइन्। कोषले प्रत्येक वर्ष स्वर्गीय गोविन्द बस्नेतलाई स्मरण गर्ने अवसर दिएको उल्लेख गर्दै उनले कोषदाता परिवारप्रति आभार व्यक्त गरिन्।
यता, कोषका अध्यक्ष तथा गोविन्दका कान्छा छोरा नवराज बस्नेत ‘नवीन’ले पुरस्कार वितरण कार्यक्रम हतारमा गरिएको भन्दै विद्यालय व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरे। आगामी वर्ष थप व्यवस्थित र बृहत् कार्यक्रम आयोजना गर्ने योजना सुनाउँदै उनले त्यसका लागि विद्यालयको सहयोग अपेक्षा गरेको बताए। बेलका नगरपालिका–९ का वडाध्यक्ष भरत घिमिरेले नगरपालिकाभित्र यस्तो छात्रवृत्ति कोष नमुनाका रूपमा रहेको बताए। यस्ता कोषले विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्नुका साथै सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि सुधार्न सहयोग पुग्ने उनको भनाइ छ। कोष दीर्घकालसम्म सञ्चालन हुन सके स्वर्गीय गोविन्द बस्नेतको योगदान पुस्तौँसम्म स्मरणीय रहने उनले बताए। कार्यक्रममा गोविन्द बस्नेतकी श्रीमती बालुका बस्नेत, बुहारी गीता बस्नेत, छोरीहरू, ज्वाइँहरू तथा नातिनातिनासहित विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय परिवारका सदस्यहरूको उपस्थिति थियो।
गोविन्द बालुका छात्रवृत्ति कोषले विद्यार्थीको शैक्षिक उपलब्धिलाई सम्मान गर्नुका साथै स्वर्गीय गोविन्द बस्नेतको सम्झनालाई सामाजिक सेवासँग जोडेको छ। यस्ता पहलले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै शिक्षामा समुदायको सहभागिता बढाउनसमेत सहयोग पुर्याउन सक्छ।


