इटहरी स् मोरङको विराटनगरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन्।
विराटनगर महानगरपालिका–७ स्थित शनिमन्दिर अगाडि कोशी राजमार्गमा बुधबार राति करिब ११स्३० बजे दुर्घटना भएको हो। बरगाछीबाट रोडशेषतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ६८४४ नम्बरको मोटरसाइकल र जलजला चोकबाट शनिमन्दिरतर्फ सडक पार गर्दै गरेको प्रदेश १–०२–०५६ प ५७१९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा पहिलो मोटरसाइकलका चालक सुनसरीको बर्जु गाउँपालिका–५ का २१ वर्षीय सुजित नारायण मेहता घाइते भएका छन्। उनको घाँटी र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। पारस अस्पताल विराटनगरमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराट नर्सिङहोम पठाइएको छ। उनको अवस्था मध्यम रहेको छ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक २५ वर्षीय प्रहरी जवान युगल मगर पनि घाइते भएका छन्। भोजपुरको आमचोक गाउँपालिका–८ घर भएका मगर सुनसरीको भोक्राहा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र, रानी विराटनगरमा कार्यरत छन्। उनको खुट्टामा चोट लागेको र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको छ। दुर्घटनास्थल विराटनगरस्थित वडा प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर पश्चिम–दक्षिणमा पर्छ। दुर्घटनाको कारणबारे थप विवरण भने खुलाइएको छैन।


