इटहरी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ताप्लेजुङ शाखाले चालु आर्थिक वर्षको तीन महिनामै एक करोड दुई लाख रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ। चालु आर्थिक वर्ष २०८३र०८४ को साउनदेखि असोजसम्म एक करोड दुई लाख ७५० रुपियाँको खाद्यान्न बिक्री भएको हो।

गत आर्थिक वर्ष २०८२र०८३ मा एक करोड छ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आवको साउन, भदौ र असोजमा मात्रै एक करोड दुई लाख रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार यस अवधिमा एक हजार १८२ क्विन्टलभन्दा बढी खाद्यान्न बिक्री भएको छ।कार्यालयका अनुसार सबैभन्दा बढी जिरा मसिनो चामल बिक्री भएको छ। यस अवधिमा ५० लाख ६५ हजार २५ रुपियाँको ५७२ क्विन्टल जिरा मसिनो चामल बिक्री भएको हो। त्यस्तै, २० लाख ९० हजार ६२५ रुपियाँको ३४० क्विन्टल सोना चामल बिक्री भएको शाखा प्रमुख तिम्सिनाले बताउनुभयो।

ताप्लेजुङमा कम्पनी स्थापना भएको ४८ वर्षपछि चिनी र दालसमेत बिक्री गर्न थालिएको थियो। चिनी बिक्री सुरु गरेको दुई सातामै २४८ दशमलव ५ क्विन्टल बिक्रीबाट २७ लाख ३५ हजार ५०५ रुपियाँ आम्दानी भएको कार्यालयले जनाएको छ। त्यस्तै, एक साताको अवधिमा उपभोक्ताले २१ दशमलव ५ क्विन्टल दाल खरिद गरेका छन्। दाल बिक्रीबाट तीन लाख १३ हजार ५०५ रुपियाँ आम्दानी भएको कार्यालयले जनाएको छ।

चाडपर्वको समयमा चिनी तथा दालमा विशेष छुट दिएर बिक्री सुरु गरेपछि उपभोक्ताको चाप बढेको र खाद्यान्न बिक्रीको परिमाणसमेत बढेको कार्यालयको भनाइ छ। कम्पनीले चिनी प्रतिकिलोग्राम ११० रुपैयाँ र दाल प्रतिकिलोग्राम १४५ रुपियाँमा बिक्री गर्दै आएको छ। उपभोक्ताको मागअनुसार खानेतेलसमेत बिक्री गर्ने तयारी भइरहेको शाखा प्रमुख तिम्सिनाले बताउनुभयो। उहाँका अनुसार खानेतेल बिक्रीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।