इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाका दुई हजार दुई सय सेवाग्राहीलाई गाउँमै सामाजिक सुरक्षा भत्ता दिइएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैङ्कसम्म पुग्न कठिनाइ पर्ने भएकाले गाउँपालिकाले बैङ्क र सुरक्षा निकायलाई सम्बन्धित वडा कार्यालयमा खटाएर भत्ता वितरण गरेको हो । उहाँहरूलाई तीन महिनाको प्रतिव्यक्ति १२ हजार रुपियाँका दरले रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

रकम बुझेका नागरिकले औषधी उपचार गर्ने, मिठोमसिनो खानेकुरा किन्ने, नातिनातिनाका लागि लत्ताकपडा जुटाउने र दसैँमा घर आउने आफन्तलाई दक्षिणा दिन रकम खर्च गर्ने योजना सुनाएका छन् । भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैङ्कसम्म पुगेर भत्ता लिन सेवाग्राहीलाई समस्या हुँदै आएको थियो । विशेष गरी हिँडडुल गर्न कठिन हुने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बजारस्थित बैङ्कसम्म पुग्न समय र खर्च दुवै लाग्ने गरेको थियो । यही समस्यालाई सम्बोधन गर्न गाउँपालिकाले बैङ्कका कर्मचारी, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी र सुरक्षाकर्मीलाई सम्बन्धित वडामै परिचालन गरेर भत्ता वितरण गरिएको हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताउनुभयो । 

विगतमा सामाजिक सुरक्षा भत्ता हातहातमै वितरण गर्दा दुरुपयोग भएको र मृत्यु भइसकेका व्यक्तिका नाममा समेत रकम निकासा हुने गरेको गुनासो आएपछि सरकारले बैङ्क खातामार्फत भत्ता वितरण गर्ने व्यवस्था लागु गरेको थियो तर बैङ्किङ प्रणालीले पारदर्शिता बढाए पनि दुर्गम क्षेत्रका अशक्त तथा ज्येष्ठ नागरिकलाई सेवा लिन असहज भएको गुनासो गर्दै आएका थिए । बैङ्किङ प्रणालीबाटै भत्ता वितरण गर्ने व्यवस्थालाई कायम राख्दै सेवाग्राहीलाई सहज बनाउन गाउँपालिकाले वडा कार्यालयसम्म सेवा पु(याएको हो । दसैँअघि घरनजिकै भत्ता पाउँदा सेवाग्राहीलाई चाडपर्वको खर्च जुटाउन सहज भएको छ भने बैङ्कसम्म पुग्नुपर्ने बाध्यतासमेत घटेको छ । गाउँपालिकाले असोज २३ गते वडा नं। १ देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको थियो ।

शुव्रmबारसम्म सात दिनको अवधिमा सबै वडामा पुगेर वितरण सकिएको अध्यक्ष अधिकारीको भनाइ छ । यस गाउँपालिकामा दुई हजार दुई सय सामाजिक सुरक्षा भत्ताका लाभग्राही छन् । गाउँपालिकाले सुरक्षाकर्मीको सहयोग लिएर बैङ्कबाट सम्बन्धित वडा कार्यालयसम्म पैसा लगेर वितरण गरेको हो । समाजिक सुरक्षा भत्ता बाँड्न बैङ्क कर्मचारीसँगै सुरक्षाकर्मी, जनप्रतिनिधि र वडाका कर्मचारी खटिएका थिए ।