इटहरी। बडादसैँको सातौँ दिन महासप्तमीका अवसरमा धनकुटास्थित निशान भगवती मन्दिरमा शनिबार परम्परागत विधिअनुसार फूलपाती बढाइँ गरिएको छ । निशान भगवतीको डोलीसहित बजार परिक्रमा गरी तल्लो टुँडिखेलमा विशेष पूजाआराधना गरेर बढाइँ सम्पन्न गरिएको हो ।
धनकुटा नगरपालिका–६ विचबजारस्थित निशान भगवती मन्दिरबाट बिहान ७स्२५ बजे निशान निकालेर सलामी दिइएको थियो । त्यसपछि बिहान ७स्२७ बजे डोलीमा राखिएको निशानसहितको टोलीले भीमसेन थान, भीमनारायण चोक, माथिल्लो कोप्चे र तल्लो कोप्चे हुँदै तल्लो टुँडिखेलसम्म बजार परिक्रमा गरेको थियो । तल्लो टुँडिखेलमा विधिपूर्वक पूजाआराधना गरेपछि निशानसहितको डोली पुनः बजार परिक्रमा गरी मन्दिरमा भित्र्याइएको थियो । फूलपाती बढाइँका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले सलामी दिएका थिए ।
निशान भगवती मन्दिरमा वि।सं। १८३१ देखि फूलपाती बढाइँ गर्ने परम्परा रहेको बताइन्छ । मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरे गोठालेका अनुसार फूलपातीका अवसरमा अशोक, केरा, जयन्ती, हलेदो, बेलपत्र, धान, सामा, दाडिम र मानेलगायत नौ प्रकारका वनस्पति डोलीमा राखेर विशेष पूजाआराधना गर्ने चलन छ । फूलपाती बढाइँ अवलोकन गर्न धनकुटाका विभिन्न गाउँबाट आएका श्रद्धालुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानीयवासी सहभागी भएका थिए ।


