इटहरी स् चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ।
जिल्ला सुरक्षा समितिले चाडपर्वलक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनमार्फत निगरानी गर्ने जनाएको हो। योजनाअनुसार जिल्लाभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २ हजार १२७ सुरक्षाकर्मी परिचालन गरिनेछ। नेपाल प्रहरीतर्फ १ हजार १९२ र सशस्त्र प्रहरीतर्फ ९३५ सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
सुरक्षा योजनाअन्तर्गत जिल्लाका ६२ संवेदनशील स्थानमा ‘पिकेट’ स्थापना गरिनेछ। त्यस्तै, ३५ टोलीबाट मोबाइल गस्ती र ३१ टोलीबाट पैदल गस्ती गरिनेछ। सम्भावित घटनामा तत्काल परिचालन हुन सातवटा क्विक रेस्पोन्स टिम ९क्यूआरटी० तयारी अवस्थामा राखिनेछ। चोरी, लुटपाट, पकेटमारी, जुवातास तथा सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैँझगडा र सवारी दुर्घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ।
यस्ता गतिविधि नियन्त्रण गर्न नियमित तथा आकस्मिक चेकजाँच, संयुक्त जाँच र रात्रिकालीन गस्तीलाई तीव्रता दिइनेछ। त्यसैगरी, सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिनेछ। ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष सञ्चालन तथा सवारीचालकको स्वास्थ्य जाँचलाई समेत प्राथमिकता दिइनेछ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र नगद कारोबार हुने प्रतिष्ठानलाई सुरक्षा व्यवस्था चुस्त राख्न तथा सीसी क्यामेरा दुरुस्त अवस्थामा राख्न आग्रह गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ।


