इटहरी स् सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक भिडियो बनाएर ५१ हजार रुपैयाँ पुरस्कार जित्ने अवसर खुलेको छ। जेसीआई तरहराले युवाको सिर्जनशीलता र भिडियो निर्माण क्षमतालाई प्रोत्साहन गर्न ‘ट्यालेन्ट हन्ट २०२६’ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ।

आगामी मंसिर १९ गते हुने प्रतियोगितामा प्रथम हुनेले ५१ हजार र दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सामाजिक सञ्जालमा उत्कृष्ट प्रदर्शन गर्ने भिडियोलाई पनि २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा समुदाय, व्यक्ति, व्यवसाय र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका सामाजिक विषयवस्तुलाई समेटिने जेसीआई तरहराका अध्यक्ष मिलन गुरुङले बताए। उनका अनुसार प्रतियोगिताको उद्देश्य सामाजिक सचेतना फैलाउनुका साथै सकारात्मक परिवर्तनका लागि प्रेरित गर्नु हो।

अभियानले व्यवसायमा सामाजिक उत्तरदायित्व बढाउन र स्थानीय कथा तथा विषयवस्तुलाई विश्वस्तरमा पुर्‍याउनसमेत सहयोग गर्ने गुरुङले बताए। ‘सँगै अघि बढौँ’ भन्ने मूल भावनासहित आयोजना हुने प्रतियोगिताले युवाको सिर्जनशीलता, भिडियो निर्माण क्षमता र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्ने आयोजकको अपेक्षा छ। कार्यक्रम संयोजकको जिम्मेवारी विकास गिरीले सम्हालेका छन्।