इटहरी । जेसीआई तरहराले सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट थर्ड एडिसन २०२६’ आयोजना गर्ने भएको छ ।
आगामी मंसिर १९ गते हुने उक्त प्रतियोगिता मार्फत सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक भिडियो निर्माण गर्ने प्रतिभाहरूलाई प्रोत्साहन गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ र दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, सामाजिक सञ्जालमा उत्कृष्ट प्रदर्शन गर्ने भिडियोलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। ‘कम्युनिटी, इन्डिभिजुअल, बिजनेस र इन्टरनेसनल’ अवधारणालाई समेट्दै सञ्चालन हुने अभियानले समुदायमा सचेतना फैलाउने, व्यक्तिलाई सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने, व्यवसायमा जिम्मेवारीबोध बढाउने तथा स्थानीय कथालाई विश्वस्तरमा पु¥याउने लक्ष्य राखेको जेसीआई तरहराका अध्यक्ष मिलन गुरुङले बताउनुभयो ।
‘लेट्स ग्रो टुगेदर’ अर्थात् ‘सँगै अघि बढौँ’ भन्ने मूल भावना सहित आयोजना हुन लागेको कार्यक्रमले युवाहरूको सिर्जनशीलता, भिडियो निर्माण क्षमता र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रम संयोजकको जिम्मेवारी विकास गिरीले सम्हाल्नुभएको छ ।

