सुनसरी | सुनसरीको तरहरामा मंसिर २४ गतेदेखि तेस्रो तरहरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजक योङ्ग ब्वाइज फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो।

प्रतियोगितामा कोशी प्रदेशका पाँच जिल्लाका फुटबल क्लबहरूको सहभागिता रहने क्लबका अध्यक्ष मोहन लिम्बूले जानकारी दिनुभयो। झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरका क्लबहरूले प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयो।

प्रतियोगिताको विजेता टोलीले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेता टोलीले १ लाख १ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने खेल संयोजक मनोज तामाङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको तरहरा गोल्डकपले यस क्षेत्रको फुटबल विकास तथा स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस प्रतियोगिताले विभिन्न जिल्लाका फुटबल क्लबबीच प्रतिस्पर्धा र आपसी सम्बन्ध विस्तार गर्ने अवसरसमेत प्रदान गर्नेछ।