इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।
हातहतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा शनिबार दिउँसो साढे ३ बजे खटिएको प्रहरी टोलीले वनमा खोजतलास गर्ने क्रममा हतियार फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरौलबाट संयुक्त रूपमा खटिएको टोलीले सामुदायिक वनभित्र पिठारीको रूखको फेदमा रहेको झ्यासघारीमा लुकाएर राखिएको अवस्थामा कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद हतियार र गोली इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ । हतियार कसले र कुन प्रयोजनका लागि वनमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा हतियारको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


