इटहरी स् मोरङको धनपालथान गाउँपालिका–३ स्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट घाइते एकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका छन्।
२०८३ असोज ३० गते साँझ भारतीय नम्बर प्लेटको बीआर ३८ एएच ०३६६ नम्बरको मोटरसाइकलले बाटो छेउमा बसिरहेका मानिसलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनपालथान–३ की ४० वर्षीया प्रीति चन्द राजवंशी, उनका करिब चार वर्षीय छोरा राज रिसिदेव र ५५ वर्षीय चाहारु रिसिदेव घाइते भएका थिए। उनीहरूलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो।
घाइते प्रीति चन्द राजवंशीको विराटनगरस्थित जीवन विकास अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक भारतको अररिया, आपगाछी गाउँपालिका–३ बारुदहका करिब २२ वर्षीय बलराम कुमार सदा र मोटरसाइकलमा सवार अररिया, पुवारी गाउँपालिका–४ मेघाका २२ वर्षीय गौतम सदा पनि घाइते भएका छन्। उनीहरूको रंगेली अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी बेतौनामा राखिएको छ।


