इटहरी। विराटनगरका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरेले पछिल्लो अढाई वर्षमा १,३४० भन्दा बढी सर्पको उद्धार गरेका छन्।

सर्प उद्धारका क्रममा एक खतरनाक ‘मनोकल्ड स्पिटिङ कोब्रा’ले अनुहारमा विष फाल्दा गम्भीर घाइते भएका घिमिरे २८ घण्टा अस्पतालमा उपचाररत रहे। घिमिरेको सक्रियता र सचेतनाका कारण विराटनगरमा सर्पदंशबाट हुने मृत्युदर लगभग शून्यमा झरेको छ। विराटनगर । विराटनगर सहर र आसपासका बस्तीहरू मग्न निद्रामा रहँदा विराटनगर महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरे भने जागैजस्तै हुन्छन् ।

उनको सिरानीमै रहेको मोबाइलका लागि कुनै पनि समय ‘असमय’ हुँदैन । मध्यरातमा फोन आउँछ । त्यसपछि उनीसँग हारगुहार सुरु हुन्छ, ‘सर १ खाटमुनि सर्प बसेको छ । नानीहरू च्यापेर ढोकाबाहिर निस्किएका छौँ ।’ यसपछि शम्भु आफ्नो हेलमेट, पन्जा र सर्प समात्ने स्टिक ९चिम्टा० सहित निद्रा, थकान र रातको परवाह नगरी मोटरसाइकल हुइँक्याएर त्यहीँ पुग्छन् ।

यो कुनै एक दिनको घटना होइन, पछिल्लो अढाई वर्ष यता शम्भु घिमिरेको जीवन यसरी नै चलिरहेको छ । मानिसहरू सर्प देख्नासाथ तर्सिएर भाग्छन्, तर शम्भु तिनै विषालु सर्पहरूलाई पक्रिन्छन् र नगरवासीको ज्यान जोगाउँछन् । २०७९ साल चैत १७ र १८ गते विराटनगर महानगरपालिकाले चार जना नगर प्रहरीलाई सर्प उद्धारको आधारभूत तालिम दिएको थियो । तालिमपछि २०८० वैशाख १५ गते नोबेल बैंक नजिकै गोल्छा चोकस्थित एक घरबाट पहिलो पटक सर्प उद्धार गर्दै शम्भु यो जोखिमपूर्ण बाटोमा होमिए ।

सुरुवाती वर्ष मानिसहरूलाई शम्भुको यो सिपबारे धेरै जानकारी थिएन । त्यो वर्षभरिमा जम्मा ६८ वटा सर्प समातिए । तर, जब उनको उद्धारको चर्चा फैलियो, शम्भुको फोनमा घण्टी बज्ने क्रम रोकिएन । पछिल्लो दुई वर्ष पाँच महिनाको अवधिमा उनले घरभित्र पसेका १ हजार ३४० भन्दा बढी विषालु तथा गैर–विषालु सर्पको सुरक्षित उद्धार गरेका छन् । ‘यो वर्ष त अत्यधिक चाप छ,’ शम्भुले भने, ‘गत साउन महिनामा मात्रै मैले ११९ वटा सर्प समातेँ । बर्खा याममा दिनकै ५ देखि ६ वटा सर्प समात्न दौडिनुपर्छ । कुनै दिन शून्य हुँदैन, नभएको दिन पनि १–२ वटा त हुन्छ नै ।’

घरभन्दा बाहिरको सर्प समातेर साध्य नै चल्दैन । त्यो उसको प्राकृतिक बासस्थान हो । ‘म केवल घरभित्र पसेका, जसले सुतिरहेका मानिस, वृद्धवृद्धा र बालबच्चालाई सिधै जोखिममा पार्छन्, त्यस्ता सर्पमात्र उद्धार गर्छु,’ उनले भने । सर्पसँगको सहकार्य मृत्युसँगको लुकामारी जस्तै हो । शम्भुले धेरै पटक ठुलाठुला जोखिम लिएका छन् । सबैभन्दा ठुलो घटना पूर्वसांसद डा। सुनिल शर्माको नोबेल अस्पताल परिसरस्थित निवासमा भएको थियो । त्यहाँ एउटा दुर्लभ र निकै खतरनाक मानिने ‘मनोकल्ड स्पिटिङ कोब्रा’ ९चन्द्र नाग० पसेको थियो । यो सर्पले टाढैबाट आँखा र अनुहार ताकेर तीव्र गतिमा विष फाल्ने गर्छ ।

उद्धारका क्रममा उक्त कोब्राले सिधै शम्भुको अनुहारमा विष फालिदियो । विष छाला र आँखामा परेपछि उनी गम्भीर घाइते भए । तत्कालै अस्पताल भर्ना गरिएका शम्भु २८ घण्टासम्म चिकित्सकको सघन निगरानीमा रहनुपर्‍यो । त्यो घटनापछि शम्भुको चर्चा झनै चुलियो । मृत्युको मुखबाट फर्केर पनि उनी डराएनन् । त्यसयता मात्रै उनले विराटनगर–१९ लगायतका ठाउँबाट १७ वटा विष फाल्ने चन्द्र नाग र ७ वटा तिनका अन्डा समेत सुरक्षित फेला पारी उद्धार गरेका छन् । सर्प उद्धारका क्रममा शम्भुले भोगेका अनुभव कुनै थ्रिलर सिनेमाभन्दा कम छैनन् । ओछ्यानको सिरकमुनि, खाटको चेपमा, दराज, कुलर, वासिङ मेसिन, एसी र फ्रिजको पछाडि लुकेका सर्प समात्नु उनका लागि सामान्य भइसक्यो । कतिपय घरमा त मानिसहरू बिहान शौच गर्न जाँदा शौचालयको प्यान र कमोडभित्रै फणा उठाएर बसेको गोमन देखेर बेहोस हुने अवस्थामा पुगेका छन् । त्यस्ता अनौठा र साँघुरा ठाउँबाट पनि शम्भुले कुशलतापूर्वक सर्प बाहिर निकालेका छन् ।

उनले अति विषालु गोमन ९स्पेक्टेकल्ड कोब्रा०, चन्द्र नाग, करेतका विभिन्न प्रजाति ९कमन करेत, ब्यान्डेड करेत, बैरी करेत०, किङ कोब्राका बच्चादेखि लिएर विशाल अजिङ्गर, धामन र ढोडियासम्मका दर्जनौँ प्रजातिका सर्पको उद्धार गरेका छन् । विराटनगरका १९ वटै वडा ९सबैभन्दा धेरै वडा नं ४ बाट० बाहेक छिमेकी पालिकाहरू बुढीगंगा, कटहरी, जहदा, बर्जु, ग्रामथान, धनपालथानको कर्सिया र सुनसरीको दुहबीसम्म पुगेर उनले नागरिकलाई सुरक्षित बनाएका छन् । छिमेकी पालिकामध्ये सबैभन्दा धेरै सर्प बुढीगंगाबाट समातिएका छन् । शम्भुको यो निरन्तरको दौडधुपले विराटनगरमा सर्पदंशबाट हुने मृत्युदरमा गिरावट आएको छ । विगतका वर्षहरूमा कोशी अस्पतालको तथ्याङ्क हेर्दा विराटनगर र आसपासबाट बर्सेनि १ सय देखि १५० जना सर्पदंशका बिरामी अस्पताल पुग्थे भने २० देखि ४० जनासम्मले अकालमा ज्यान गुमाउँथे । पछिल्लो समय विराटनगर महानगरभित्र सर्पदंशका कारण ज्यान गुमाउनेको संख्या लगभग शून्यमा झरेको छ ।

यसको मुख्य कारण सचेतना र शम्भुको सक्रियता नै हो । पहिले सर्प देख्नासाथ मानिसहरू मार्न खोज्थे वा सर्प लुकेकै कोठामा असुरक्षित सुत्थे । अहिले सर्प देखिनेबित्तिकै मार्नुको साटो शम्भुलाई खबर गर्छन् । सामाजिक सञ्जाल र टोल–टोलमा फैलाएको सचेतनाका कारण नागरिकहरू सुत्नुअघि ओछ्यान, दराज, सोफामुनिको भाग र जुत्ता चेकजाँच गर्न थालेका छन् । ‘सर्पले टोकेमा धामीझाँक्रीकहाँ गएर अमूल्य समय खेर फाल्नुहुँदैन । सिधै अस्पताल जानुपर्छ भन्ने चेतना अहिले गाउँ–सहर सबैतिर पुगेको छ,’ शम्भुले भने ।

उद्धारपछिको सुरक्षित बासस्थान वन क्षेत्र

शम्भुले समातेका सबै सर्पलाई सुरक्षित खोरमा राखेर डिभिजन वन कार्यालय मोरङको जिम्मा लगाइन्छ । डिभिजन वन कार्यालयले हरेक १–२ दिन बिराएर सवारी साधनमार्फत १० देखि १२ वटाका दरले ती सर्पलाई मानवरहित घना वन क्षेत्र ९चारकोशे झाडी० मा लगेर प्राकृतिक बासस्थानमै छाड्ने गरेको छ । वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीका अनुसार उद्धार गरिएका सर्पमध्ये घाइते भएकालाई उपचार गरिन्छ भने स्वस्थ सर्पलाई तालिमप्राप्त कर्मचारीमार्फत सुरक्षित जंगलमा लगेर छाडिन्छ । स्थानीय बासिन्दामा त्रास नफैलियोस् भनेर सर्प छाड्ने यकिन ठाउँ भने गोप्य राख्ने गरिएको छ ।

कतिपयले जंगलमा सर्प धेरै हुँदा असन्तुलन आउँछ कि भन्ने चिन्ता गरे पनि शम्भु र वन अधिकृत अधिकारीको मत फरक छ । ‘सर्प पारिस्थितिक प्रणाली ९इकोसिस्टम० को अभिन्न अंग हो । सर्पले मुसा नियन्त्रण गर्छ, ठुला सर्पले साना सर्पलाई खान्छन् । मयूर तथा चराचुरुङ्गीले सर्पलाई आहारा बनाउँछन् । यसले प्रकृतिको खाद्य चक्रलाई सन्तुलित नै राख्छ,’ शम्भुले भने । चौबिसै घण्टा मृत्युको जोखिम मोलेर नगरवासी र आसपासका बासिन्दाको ज्यान जोगाउने शम्भु घिमिरेले कुनै अतिरिक्त जोखिम भत्ता वा विशेष सुविधा पाएका छैनन् । महानगरले दिएको एउटा हेल्मेट, हेडलाइट र डिभिजन वन कार्यालयले दिएको सानो खोरको भरमा उनी आफ्नो नियमित तलबमै खटिरहेका छन् । यसमा उनलाई गुनासो छैन । ‘दुई वर्षदेखि राति ढुक्कसँग सुत्न पाएको छैन । मध्यरातमा फोन आउँदा शरीर गल्छ, तर अर्कोतिर कोही जीवन र मरणको दोसाँधमा छ भन्ने सम्झिँदा मन मान्दैन,’ शम्भुले भने, ‘मानिसको ज्यान जोगिँदा र विषालु सर्पलाई नमारी जंगलमा पुर्‍याउँदा पाउने आत्मसन्तुष्टिको अगाडि दुनियाँका अरू सबै सुविधा फिका लाग्छन् ।’