इटहरी स् मध्यरातको सन्नाटा, चिसो मौसम र उकालो पदमार्ग। हातमा टर्चलाइट बोकेर लामबद्ध रूपमा अघि बढिरहेका दर्शनार्थी। कसैको ओठमा देवीको नाम छ भने कसैको मनमा वर्षौंदेखि साँचेको भाकल पूरा हुने विश्वास। रातभरको पैदल यात्रा र कठिन उकालो पार गर्दै बिहानको उज्यालो नहुँदै दर्शनार्थीहरू ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० पुगिरहेका हुन्छन्।
पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल पाथीभरामा यतिबेला दर्शनार्थीको चहलपहल बढेको छ। नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि पुग्ने गरेका छन्। यस वर्ष कात्तिक तेस्रो सातामा दर्शनार्थीको सङ्ख्याले नयाँ रेकर्ड कायम गरेको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार मङ्गलबार एकै दिन १० हजार ६ सय १६ जनाले मन्दिरमा दर्शन गरेका छन्। यस वर्ष एकै दिन दर्शन गर्ने भक्तजनको यो सबैभन्दा ठूलो सङ्ख्या हो। केही दिनअघिसम्म सुनसानजस्तै रहेको पाथीभरामा मौसममा सुधार आएसँगै दर्शनार्थीको भीड लागेको हो। समितिका अनुसार आइतबार ६ सय ४० र सोमबार ३ हजार ५ सय ९० जनाले दर्शन गरेका थिए। नवरात्र सुरु हुँदा अस्त शुक्रलगायत ज्योतिषीय कारण र वर्षाको सम्भावनाले दर्शनार्थीको आवागमन अपेक्षाकृत कम थियो। मौसम अनुकूल बनेपछि भने भक्तजनको चाप एकाएक बढेको हो।
पाथीभरा दर्शनका लागि आउने अधिकांश भक्तजनले रातको समयलाई यात्राका लागि रोज्ने गरेका छन्। लामो दूरीबाट आउने दर्शनार्थी पहिलो दिन काफ्लेपाटी र ठूलोफेदीमा बास बसेर भोलिपल्ट बिहानै मन्दिरतर्फ लाग्छन्। धेरैजसो राति १ देखि २ बजेदेखि यात्रा सुरु गर्छन् भने कतिपय रातभर हिँडेर बिहानै मन्दिर पुग्ने गरेका छन्। तल्लोफेदीसम्म सवारीसाधनमा पुगेपछि पैदल यात्रा सुरु हुन्छ। उकालो बाटो पार गर्दै ठूलोफेदी पुग्न करिब एक घण्टा लाग्छ। त्यहाँबाट कान्छीथान हुँदै मन्दिर पुग्न थप दुईदेखि तीन घण्टा पैदल हिँड्नुपर्छ। समुद्री सतहबाट करिब ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्ने बाटो सहज छैन। चिसो मौसम, उच्च उचाइ र कठिन भूगोलका बाबजुद देवीप्रतिको आस्था र मनोकामना पूरा हुने विश्वासले भक्तजनलाई यात्रामा अघि बढाइरहेको हुन्छ। तेह्रथुमबाट दर्शनका लागि पुगेका डिकेन कार्कीले पनि राति २ बजेदेखि यात्रा सुरु गरेर मन्दिर पुगे। लामो समयदेखि पाथीभरा दर्शन गर्ने इच्छा राखेका उनी कठिन यात्रा पार गरे पनि देवीप्रतिको विश्वासले आफूलाई उत्साहित बनाएको बताउँछन्। ‘राति २ बजेदेखि हिँडेर दर्शन गर्न आएको हुँ। देवीप्रति विश्वास छ, आफूले सोचेको र मागेको कुरा पूरा हुन्छ भन्ने आशा छ,’ उनले भने।
नवरात्रका समयमा दर्शनार्थीको चाप राति १ बजेदेखि दिउँसो २ बजेसम्म रहने गरेको मन्दिरका पुजारी बताउँछन्। दर्शनार्थीको सहजताका लागि पदमार्गका विभिन्न स्थानमा विश्रामस्थल तथा बास बस्ने व्यवस्था गरिएको छ। उकालो बाटोमा हिँड्न कठिन हुने ज्येष्ठ नागरिक, अशक्त तथा बालबालिकासहित आउने परिवारलाई सहयोग गर्न भरियासमेत खटिने गरेका छन्। उनीहरूले यात्राका क्रममा सामान बोक्ने र आवश्यक सहयोग पुर्याउने काम गर्दै आएका छन्। दर्शनार्थीको सङ्ख्या बढेसँगै पाथीभरा क्षेत्रका होटल तथा आवासस्थलमा पनि चाप बढेको छ। फुङलिङ बजार, सुकेटार, काफ्लेपाटी, तल्लोफेदी र माथिल्लोफेदीका होटल भरिभराउ भएका छन्। एकै दिन हजारौँ दर्शनार्थी पुग्दा होटल तथा यातायात व्यवसायीलाई व्यवस्थापन गर्नसमेत कठिन भएको छ। भक्तजनको आवागमन बढेसँगै मेची राजमार्ग र तमोर करिडोरमा सवारीसाधनको चापसमेत बढेको ताप्लेजुङका पत्रकार कृष्ण फुरुम्बोले बताए।
स्थानीय विक्रम लिम्बूका अनुसार भाकल तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण पाथीभरा आउने भक्तजनको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ। नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्। धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य र हिमाली भूगोलले पनि पाथीभरा क्षेत्रको आकर्षण बढाएको उनको भनाइ छ। कञ्चनजङ्घा हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै गरिने पदयात्रा पाथीभरा यात्राको अर्को विशेषता हो। धार्मिक आस्थासँगै प्रकृतिको नजिक पुग्ने अवसरसमेत भएकाले यहाँ आउने पर्यटकको आकर्षण बढ्दै गएको छ। नवरात्रबाहेक अन्य चाडपर्व, सार्वजनिक बिदा तथा अनुकूल मौसममा पनि भक्तजनको आवागमन हुने गरेको छ।
पाथीभरा धार्मिक आस्थाको केन्द्र मात्र नभई पूर्वी नेपालको पर्यटन प्रवर्द्धनसँग जोडिएको महत्त्वपूर्ण गन्तव्यसमेत हो। यहाँको बढ्दो चहलपहलले स्थानीय होटल, पसल, यातायात तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यद्यपि, दर्शनार्थीको सङ्ख्या बढ्दै जाँदा पदमार्गको स्तरोन्नति, विश्रामस्थलको व्यवस्थापन, सरसफाइ, स्वास्थ्य सेवा र सुरक्षित आवागमनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि देखिएको छ। धार्मिक विश्वास बोकेर कठिन यात्रा गर्दै पुग्ने भक्तजनको सुविधामा ध्यान दिन सके पाथीभरा क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्त्व थप विस्तार हुने देखिन्छ।


