इटहरी। केही दिनदेखिको वर्षा रोकिएसँगै सोलुखुम्बुका किसानलाई पाकेको धान काट्न र थन्क्याउन चटारो परेको छ । जिल्लाका विभिन्न स्थानका खेतमा धान काट्ने र भित्र्याउने किसानको चहलपहल बढेको छ ।
जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली र देउसाललगायतका स्थानमा किसान धान थन्क्याउन व्यस्त छन् । सिँचाइको सुविधा भएको र रोगको प्रकोप नदेखिएको क्षेत्रमा धान उत्पादन सन्तोषजनक हुने अनुमान गरिएको छ । नेचासल्यान–१ का किसान कुमार बस्नेतले वर्षाका कारण रोकिएको धान भित्र्याउने काम अहिले धमाधम भइरहेको बताउनुभयो । यसपटक दसैँ सकिएलगत्तै धान काट्न सुरु गरे पनि केही दिनको वर्षाले काममा ढिलाइ भएको उहाँको भनाइ छ । अहिले मौसम अनुकूल भएकाले धान भित्र्याउन सहज भएको किसान बताउँछन् ।
अर्का किसान अशोक कार्की पनि वर्षभरि खाने अन्न भित्र्याउन खेतमा व्यस्त हुनुहुन्छ । एकै समयमा धान पाकेकाले काट्ने कामका लागि श्रमिकको अभाव भएको उहाँले बताउनुभयो । किसानलाई धान काट्ने र पराल थन्क्याउनेसँगै हिउँदे आलु लगाउने कामको समेत चटारो परेको छ । मौसम जुनसुकै बेला प्रतिकूल हुन सक्ने र असिना–पानी पर्ने जोखिम रहने भएकाले धान भित्र्याउने समयमा किसान चिन्तित हुने गरेका छन् । पछिल्ला वर्षमा धान छिटो रोप्न थालेकाले यस वर्ष पनि केही स्थानमा छिट्टै पाकेको किसानको भनाइ छ । ढिलो रोपाइँ भएका ठाउँमा भने धान पाक्न बाँकी छ ।
विगतका वर्षको तुलनामा यस वर्ष समयमा पानी परेको र धानमा रोगको प्रकोप खासै नदेखिएकाले उत्पादन केही बढ्ने किसानको अनुमान छ । जिल्लामा हाल एक हजार ६२५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको तथ्याङ्क छ । यहाँका किसानले मोटा धानका रूपमा दुधेमार्सी, ताइचिन, मकवानपुरे, दोलाखे र पोखरेलीलगायतका जात तथा मसिनो धान लगाउने गरेका छन् ।


