इटहरी : साउदी अरबको कम्पनीमा थप दुई वर्ष बिताएका भए नगेन्द्र बाँस्कोटाको हातमा बोनसबापत करिब २० लाख रुपैयाँ पर्थ्यो । आठ वर्ष काम गरेको कम्पनीमा विश्वास कमाएका थिए, तलब पनि बढिरहेको थियो, तर बिदामा नेपाल आएका उनले फेरि नफर्किने निर्णय गरे ।
त्यो निर्णयसँगै उनले बोनसको आशा छाडे र विदेशमा सिकेको गाडी धुने सीप आफ्नै ठाउँमा प्रयोग गरे । अहिले इटहरीमा ‘हलेसी कार वास’ सञ्चालन गरिरहेका ४७ वर्षीय बाँस्कोटा नौ जनालाई रोजगारी दिइरहेका छन् र अर्को शाखा खोल्ने तयारीमा छन् । उनको बिहान चार बजे नै सुरु हुन्छ । नित्यकर्म सकेर छ बजे पसल पुग्छन् र ग्राहकको गाडी सफा गर्नेदेखि कर्मचारीको काम हेर्नेसम्ममा खटिन्छन् । गाडी धोएपछि कतै फोहोर बाँकी छ कि, काम राम्ररी सकियो कि सकिएन भन्नेमा उनको ध्यान हुन्छ । ग्राहकले पैसा तिरेपछि चित्त बुझ्ने काम पाउनुपर्छ भन्ने मान्यताले आफूलाई टिकाएको उनी बताउँछन् ।
‘ग्राहकलाई खुसी बनाउनुपर्छ, काम राम्रोसँग सक्नुपर्छ,’ बाँस्कोटा भन्छन् । झन्डै डेढ दशकदेखि उनले यही कुरालाई आफ्नो व्यवसायको आधार बनाएका छन् । इटहरी–१० मा जन्मिएका बाँस्कोटाको बाल्यकाल सहज थिएन । स्थानीय जनता स्कुलमा कक्षा १० सम्म पढे पनि घरको समस्याले त्यसभन्दा माथि पढ्ने अवसर पाएनन् । आमा बिरामी भएपछि घरको काम र परिवारको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता थियो । पढाइ अघि बढाउने चाहनाभन्दा घरको आवश्यकता ठूलो हुँदै गयो र उनी कमाउने उपाय खोज्न थाले । परिवारले नौ जना छोरा गुमाउनुको पीडा पटकपटक बेहोरेको उनी सुनाउँछन् । उनका अनुसार आमाबुबाका १२ सन्तानमध्ये नौ जना छोराको निधन भयो भने उनीसहित दुई छोरा र एक छोरी बाँचे ।
घरको अवस्था सुधार्ने आशामा उनी सन् २००२ मा साउदी अरब गए । तर, त्यहाँ काम गर्दागर्दै पत्थरी भएपछि उपचारका लागि नेपाल फर्किनुपर्यो । पत्थरियाको शल्यक्रियापछि स्वास्थ्यमा सुधार आयो, ऋणको बोझ भने घटेको थिएन । विदेश जाँदा लागेको ऋण तिर्न नसकेपछि उनले फेरि विदेश जाने बाटो रोजे । यसपटक उनी मलेसिया पुगे र तीन वर्ष मेसिनको काम गरे । आफ्नो खानपिनको खर्च कटाएर महिनामा सात हजार रुपैयाँ घर पठाउँथे । त्यही रकमले घरको आवश्यकता पूरा गर्न र ऋण तिर्न सघाउँथ्यो । तीन वर्षपछि नेपाल फर्किए पनि यतै बसेर नियमित आम्दानी गर्ने आधार बनिसकेको थिएन । त्यसपछि पेट्रोल पम्पमा काम गर्ने भनेर फेरि साउदी अरब गए । तर, पुगेपछि भनिएको काम पाएनन् र करिब एक महिनापछि उनलाई कार वासमा पठाइयो । सुरुमा मासिक आठ सय साउदी रियाल तलब थियो । पेट्रोल पम्पमा काम गर्ने सोच लिएर गएका बाँस्कोटाले गाडी धुने काम सिक्न थाले र त्यसैमा मन लगाए ।
उनले जिम्मेवारीपूर्वक काम गरेपछि कम्पनीले अतिरिक्त समयको पारिश्रमिक पनि दियो । इमानदारी देखेर तलब बढायो र उनीमाथिको विश्वास थपिँदै गयो । त्यहाँ काम गर्ने क्रममा दुईपटक बिदामा घर आएर फेरि फर्किए । यसरी आठ वर्ष बिताउँदा गाडी धुने सीपसँगै कामको गुणस्तर र ग्राहकको सन्तुष्टिको महत्त्व पनि बुझे । अर्कोपटक बिदामा नेपाल आएका बेला भने उनलाई आफ्नै ठाउँमा काम गर्ने विचार आयो । थप दुई वर्ष बस्दा पाउने करिब २० लाख रुपैयाँ बोनस छाडेर यतै व्यवसाय सुरु गर्ने निर्णय गरे । विदेशमा सिकेको काम नेपालमा पनि गर्न सकिन्छ भन्ने विश्वास उनीसँग थियो । मामाका छोरा ओमनाथ ढकालसँग मिलेर १० लाख रुपैयाँ लगानीमा हलेसी कार वास खोले । अरूको कम्पनीमा वर्षौँ गरेको काम आफ्नै लगानीमा सुरु गर्दा उत्साह थियो, तर आम्दानी सोचेजस्तो हुन समय लाग्यो । सुरुमा कमाइले कर्मचारीको तलब र पसलको भाडा तिर्न मात्रै पुग्थ्यो । दिनभरि खटिँदा पनि हातमा खासै पैसा बच्दैनथ्यो । तैपनि उनीहरूले हरेस खाएनन्, आउने ग्राहकलाई राम्रो सेवा दिँदै काम गरिरहे ।
बिस्तारै ग्राहक बढे र व्यवसायले गति लिन थाल्यो । गाडी धुन आउने मानिसको विश्वास जित्दै गएपछि खर्च धान्न मात्रै सीमित कामले आम्दानी पनि दिन थाल्यो । आउँदो असारमा कार वास सञ्चालन गरेको १४ वर्ष पुग्दै छ । त्यसयता बाँस्कोटालाई फेरि रोजगारी खोज्दै विदेश फर्किनुपरेको छैन । साउदीको पुरानो कम्पनीले भने उनलाई अझै सम्झिन्छ । अनलाइनमा सम्पर्क हुँदा फेरि काममा बोलाउने गरेको उनी सुनाउँछन्, तर अहिले उनको ध्यान इटहरीकै व्यवसाय विस्तारमा छ । हलेसी कार वासमा दैनिक ३० वटासम्म गाडी धुने गरिएको छ । ग्राहकको चाहनाअनुसार सफाइ गर्ने र राम्रोसँग काम सकेर गाडी बुझाउने कुरामा उनी जोड दिन्छन् । इटहरीमा १५ भन्दा बढी कार वास रहेको उनी बताउँछन् । प्रतिस्पर्धाबीच व्यवसाय टिकाउन ग्राहकसँगको व्यवहार र कामको गुणस्तर दुवै राम्रो हुनुपर्ने उनको अनुभव छ । ‘म बेइमानी गर्दिनँ, काममा विश्वास गर्छु, त्यसैले टिकिरहेको छु,’ उनी भन्छन् । एकपटक आएको ग्राहक फेरि फर्केर आउनु उनका लागि आफ्नो कामप्रतिको विश्वास हो ।
अहिले कार वासमा नौ जना कर्मचारी छन् । उनीहरूलाई मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म तलब दिने गरेको बाँस्कोटा बताउँछन् । कर्मचारीको खानबस्न र बिरामी पर्दाको खर्चसमेत हेर्नुपर्छ । काममा इमानदार र जिम्मेवार मानिस पाउन भने सहज नभएको उनको अनुभव छ । पसलको मासिक भाडा २० हजार रुपैयाँ तिर्छन् । उनका अनुसार अहिले व्यवसायबाट मासिक करिब ७० हजार रुपैयाँ आम्दानी हुने गरेको छ । यो अवस्थासम्म आइपुग्न पत्नी खेमकुमारी बाँस्कोटाको ठूलो सहयोग रहेको उनी सुनाउँछन् । आफू दिनभरि काममा खटिँदा पत्नीले खानपिनदेखि घरको व्यवस्थापनसम्म सम्हालेकी छन् । काम गर्दा लुगा भिज्ने र फोहोर हुने भएकाले दिनमै चारपटकसम्म लुगा धुनुपर्ने अवस्था हुन्छ । समयमै खाना खुवाउने र दैनिक आवश्यकताको ख्याल राख्ने पत्नीको साथले काममा निरन्तर खटिन सहज भएको उनी बताउँछन् ।
बाँस्कोटाका दुई छोराले स्नातकोत्तर पूरा गरेका छन् भने कान्छा छोरा कक्षा १२ मा पढ्दै छन् । आफूले घरको समस्याका कारण पढाइ रोक्नुपरे पनि छोराहरूलाई उच्च शिक्षा दिलाउन पाएका छन् । छोराहरूले पनि एकपटक विदेशको काम र त्यहाँको तौरतरिका बुझून् भन्ने उनलाई लाग्छ । सीप र अनुभव लिएर फर्किएपछि आफ्नै ठाउँमा काम गरून् भन्ने उनको चाहना छ । अरू देशका मानिस नेपाल आएर काम गरिरहेको देख्दा यहाँ पनि अवसर छ भन्ने आफूले बुझेको उनी बताउँछन् । त्यसलाई आम्दानीमा बदल्न भने काम सिक्नुपर्ने, समय दिनुपर्ने र धैर्य राख्नुपर्ने उनको अनुभव छ । ‘समयभन्दा अगाडि हुनुपर्छ, समयले जित्यो भने हामी केही गर्न सक्दैनौँ,’ उनी भन्छन् । बिहान सबेरै उठेर पसल पुग्ने उनको बानीमा यही सोच जोडिएको छ ।
अब उनी इटहरीमै अर्को कार वास खोल्ने तयारीमा छन् । तीन महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको नयाँ शाखामा करिब ३० लाख रुपैयाँ लगानी लाग्ने उनको अनुमान छ । कुनै बेला विदेश जाँदाको ऋण तिर्न उनी फेरि विदेशिन बाध्य थिए । अहिले विदेशमै सिकेको सीपले परिवार धानिरहेका छन्, नौ जनालाई काम दिएका छन् र व्यवसाय बढाउने अवस्थामा पुगेका छन् । २० लाख रुपैयाँ बोनस छाड्दाको निर्णय सम्झँदा उनीसँग आज आफ्नै मेहनतले उभिएको व्यवसाय छ । त्यसको सुरुवात भने तलब र भाडा तिर्न मात्रै पुग्ने दिनबाट भएको थियो । त्यही अनुभवबाट बाँस्कोटा भन्छन्, ‘थोरै पैसा हुँदा पनि इमानदारीका साथ काम गर्नुपर्छ, आफ्नो काममा विश्वास गर्नुपर्छ, बिस्तारै सफलता हुन्छ ।’ उनी अहिले पनि बिहान छ बजे पसल पुग्छन्, ग्राहकको गाडी सफा गर्छन् र आफूले रोजेको कामलाई अघि बढाइरहेका छन् ।


