इटहरी । संखुवासभा जिल्ला अस्पतालको नवनिर्मित ५० शय्या क्षमताको भवन शुक्रबार उद्घाटन गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा अस्पताललाई १ सय शय्यामा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुृभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली, आर्थिक मामिलामन्त्री विदुर लिङ्थेप, सांसद राजेन्द्र कार्की, पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र पूर्वसांसद राजेन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले जिल्लावासीलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत २७ करोड २७ लाख ८० हजार रुपैयाँ लागतमा तीन ब्लकमा उक्त भवन निर्माण गरिएको हो। २०७५ असारमा सम्झौता भई २०७८ मा सकिनुपर्ने भए पनि प्राविधिक कारणले चार वर्ष ढिला गरी काम सम्पन्न भएको हो। नयाँ भवन सञ्चालनमा आएसँगै संखुवासभा र भोजपुरका उत्तरी क्षेत्रका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहज हुने अस्पतालका प्रमुख डा. सन्तोष देवले बताउनुभयो । सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउने प्रदेश सरकारको मुख्य योजना रहेको छ ।