इटहरी । धनकुटामा पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । मङ्गलबार जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रमबीच डिभिजन कार्यालयको उद्घाटन गरिएको हो ।

धनकुटा, सङ्खुवासभा र भोजपुरलाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको कार्यालयले स्थानीय पूर्वाधार विकास, सडक तथा पुल निर्माण र ग्रामीण क्षेत्रका पूर्वाधार विकाससम्बन्धी काम गर्ने जनाइएको छ । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठ र पूर्वाधार विकास डिभिजन कार्यालय धनकुटाका प्रमुख हुतराज चौहानले संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्नुभयो । कार्यालयमा एक जना कार्यालय सहयोगीसहित ११ जना स्थायी कर्मचारीको दरबन्दी रहेको कार्यालय प्रमुख चौहानले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत असोज १३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत डिभिजन कार्यालय स्थापना गरिएको हो । कार्यालयले सडक, स्थानीय तहका केन्द्र जोड्ने सडक, पालिका तथा वडा कार्यालयसम्म पुग्ने सडक र सडक पुल निर्माणलगायतका क्षेत्रमा काम गर्नेछ । ग्रामीण क्षेत्रमा सडक पहुँच नहुँदा स्थानीयले भोग्दै आएको समस्या समाधान गर्न कार्यालयले प्राथमिकताका साथ काम गर्ने चौहानले बताउनुभयो । विकास निर्माणका कामलाई प्रभावकारी बनाउन स्थानीय नागरिक, जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवालाको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तामाङले कार्यालय स्थापना भएपछि जिल्लामा विकास निर्माणका कामले गति लिने अपेक्षा व्यक्त गर्नुभयो । कतिपय स्थानीय तह, वडा कार्यालय र गाउँबस्तीमा सडक पहुँच नपुगेकाले नयाँ कार्यालयको स्थापनाले सडक निर्माण र विस्तारमा सहयोग पुग्ने उहाँले बताउनुभयो । सडक सञ्जाल विस्तार भएपछि किसानले उत्पादन गरेका तरकारी, सागसब्जी तथा दुग्धजन्य पदार्थ बजारसम्म पुर्‍याउन सहज हुने उहाँको भनाइ थियो । कार्यालय स्थापनाले जिल्लाभरिका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

उहाँले जिल्लामा रहेका सरकारी खाली भवन प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिँदै भाडाका भवनमा सञ्चालन भइरहेका सरकारी कार्यालयलाई सरकारी भवनमा स्थानान्तरण गर्ने तयारी भइरहेको पनि बताउनुभयो । पूर्वी पहाडका तीन जिल्ला कार्यक्षेत्र बनाएर स्थापना भएको यस कार्यालयले ग्रामीण सडकको स्तरोन्नति, पुल निर्माण तथा स्थानीय तहबीच सडक सञ्जाल विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।