जाँते । लेटाङ ९ जाँते स्थित उज्ज्वल वचत तथा ऋण सहकारी संस्थाले शनिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उपलक्ष्यमा सहकारी संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सबैभन्दा बढी बचत गर्ने बचतकर्ता, बाल वचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ शेयरसदस्य, शेयरसदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एकजना र विभिन्न संस्थामा रहेर समाजमा सहयोग पुर्याउने महानुभावलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले सहकारीहरुले स्थानीयबासीको आर्थिक अवस्था सुधारमा उल्लेख्य काम गरेको भन्दै नगरपालिकाले पनि सहकारीहरुको क्षमता विकासमा सघाउने बताउनुभयो । उहाँले नेपाल सरकारको अवधारणा अनुशार एकै उद्देश्य लिएर सञ्चालनमा रहेका सहकारीहरुलाई मर्ज गरेर दरिलो बनाउनु पर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन पेश गर्दै सहकारीका अध्यक्ष टंक बूर्जामगरले संस्थामा हाल ९ सय ९४ जना सदस्यहरु रहेको तथा ४ करोडसम्म कारोबार गर्न सफल भएको जानकारी दिनुभयो । यस्तै सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सचिव टेकनाथ निरौलाले संस्थामा गत आर्थिक वर्षमा भन्दा सदस्य संख्या, शेयर पूँजी, बचत र लगानी समेत वृद्धि भएको जानकारी दिनुभयो । उहाँले संस्था १ लाख ३ हजार ६ सय रुपैयाँ घाटामा रहेको समेत जानकारी दिनुभयो । यस्तै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक युवराज दाहाले संस्थाका सवल र दुर्वल पक्षको चर्चा गर्दै केही सुझावहरु राख्नुभयो । कार्यक्रममा लेटाङ ९ का वडासदस्य खेमराज ढकाल, सहकारीका सल्लाहकार सोमनाथ निरौला, उत्तरी मोरङ कृषि महिला सहकारीका सचिव भूमिका बूर्जामगर, जाँते सहकारी संस्था लेटाङ ९ का सदस्य मानबहादुर बस्नेत, अस्थायी प्रहरी चौकी जाँतेका इञ्चार्ज रिंकुकुमार मण्डल लगायतका अतिथीहरुको समेत आतिथ्यता रहेको थियो ।