थारुहरुको महान् चाड माघीपर्वले पुर्बी तराईका थारु बस्तीमा रौनक देखिएको छ । प्रदेश १ मा मोरंग सुनसरी मा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ ।
कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले मौलिक अनि विशेष पर्व विगत दुई वर्षयता कोरोना कहरले संत्रासका बीच मनाउँदै निरन्तरता दिइरहेका छन् । वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेषरुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न थारु बस्तीमा परम्परागत नृत्यसहित रमाइलो गरी मनाइँदै छ । माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन ।
‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’
थारु समुदायको गीतमा भनिएझैँ यस समुदायमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकता छ । माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी योे पर्वमा यो समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने गरेको चौधरी समुदायको भनाइ छ ।
त्यसैगरी माघीमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गरिन्छ । माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको बेलौरीकै सुकराम चौधरीले बताउनुभयो । माघीको अघिल्लो दिन राति थारु समुदाय मासु, जाँड र ढिक्री खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछ ।
माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको चौधरी समुदायका आगुको भनाइ छ । सो अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने धार्मिक मान्यतासमेत रहेको छ । माघीमा मनोरञ्जनका लागि घरमै मादकपदार्थसमेत उत्पादन गरेर खाने प्रचलन रहिआएको छ ।।” यता स्थानीय प्रशासनले पनि भीडभाड कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न यसअघि नै भनिसकेको छ ।


