धरान : युमा साम्यो महासभा नेपालले भर्खरै किरात याक्थुङ चुम्लुङ लगायत किरातजन्य संघसंस्थाहरूले सहिद सिरिजङ्गाको त्याग र बलिदानले सुरुवात भएको सिरिजङगा लिपिलाई किरात सिरिजङ्गा लिपिको नाममा समायोजन तथा नामकरण गर्ने भन्ने निर्णयप्रति आपत्ति प्रकट गर्दै भर्त्सना गरेको छ ।
महासभाले धरानमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न अभिलेख लिखत तथा अभ्यासहरूमा सिरिजङ्गाको सम्मान गर्दै उनकै नामबाट लिपिको नाम राख्न उपयुक्त र सर्वस्विकार्य हुने हुँदा यस नामको अघि-पछि कुनै फुर्का र शब्दावली आवश्यक नरहेको जनाएको छ ।
लिपिका अन्वेषक, प्रचारक तथा प्रवर्द्धक सहिद सिरिजङ्गाको योगदानलाई उच्च कदर गर्दै उनले चलाएको लिपिलाई सिरिजङ्गा लिपि बाहेक अरू कुनै नामले नामकरण गर्न अनुचित हुने साथै उनको शहादतको अपमान हुने जनाउँदै महासभाले “किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन“ मा थपिएका स्वर र व्यञ्जन वर्णहरूप्रति असहमति जाहेर गरेको छ ।
थपिएका स्वर र व्यञ्जन वर्णहरू अक्षरहरू लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त मात्रै होइन, पूर्ण असान्दर्भिक रहेको ठहर गरेको छ । यसरी सिरिजङ्गाले दिएको बलिदानीपूर्ण उच्च योगदानको मर्म र भावना विपरीत राख्न लागिएको किरात सिरिजङ्गा नामकरण अनुपयुक्त र असान्दर्भिक भएकाले यसलाई अपनत्व नलिन सम्बद्ध सबै पक्ष तथा समुदायलाई युमा साम्यो महासभाले आव्हान गरेको पत्रकार सम्मेलनमा महासभाका महासचिव डा. रमेश इजमले बताए ।
नेपालमा वि. सं. २०४७ यतादेखि सिरिजङ्गा लिपिमा याक्थुङ्वा लिम्बू भाषाको पठनपाठन भइरहेको छ । नेपाल सरकारले शहीद सिरिजङ्गाको ऐतिहासिक योगदानलाई कदर गर्दै वि. सं. २०४९ मा सिरिजङ्गाको तस्बिर अङ्कित हुलाक टिकट चलाउँदै आएको छ ।


