इनरुवा / कोशी टप्पु वन्यजन्तु आरक्षको सुनसरी र सप्तरी दुवै तर्फको भूभागमा आज सिमसार दिवस मनाइएको छ । दिवसका अवसरमा वातावरणीय संरक्षण र सिमसारको महत्व केन्द्रीत कार्यक्रमहरु आयोजना गरिएका छन । कार्यक्रममा अव्यवस्थित दोहनसँगै मिचाहा प्रजातीको प्रकोप जस्ता कारणले सिमसार संकटमा परेकाले संरक्षणमा सबैको अपरिहार्यता माथि जोड दिइएको छ ।कार्यक्रमका क्रममा सहभागिहरुले सिमसार आसपासका खेतबारीमा बढ्दो विषादीको प्रयोग, अव्यवस्थित माछा मारिनु र मानवीय कृयाकलापहरु प्रकृति र सम्पदा संरक्षण विपरित देखिएको बताए । उनीहरुले बढ्दो संकटको वेलैमा समाधान खोजिनु पर्ने औल्याए ।

कार्यक्रममा कोशी टप्पु लर्निङ ग्राउण्डका अध्यक्ष तथा संरक्षणकर्मी राजकुमार सिंहले बढ्दो चुनौतिसँगै सिमसार क्षेत्र संरक्षणको कार्य कठिन बन्दै गएको बताए । उनले मानवीय अतिक्रमण सँगै मानव सृजित क्रियाकलाप र अव्यवस्थित दोहनले सिमसार क्षेत्र मासिदै गएकाले संरक्षणमा ठोस योजनाको खाँचो रहेको बताए ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा संरक्षणको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुले सिमसार संरक्षणको खाँचो र अपरिहार्यताका बारेमा धारणा राखेका थिए । उनीहरुले संरक्षणका सवालमा बेलैमा ठोस कदम चाल्न नसकिए सिमसारको अस्तित्व गुम्ने तर्फ चिन्ता व्यक्त गरेका थिए । कोशी टप्पु लर्निङ ग्राउण्डले सिमसार दिवसको सन्दर्भमा आरक्षभित्र कार्यक्रमको आयोजना गरेको थियो भने सप्तरी तर्फभने सरकारी प्रतिनिधिहरुको उपस्थितिमा दिवस मनाइएको थियो ।