इटहरी / इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरूमा आज शोक बिदा गरिएको छ । उपमहानगरपालालिका परिसरमा बिहान शोक सभा गरेर शोक बिदा दिइएको हो । चौधरी परिवारले तत्कालिन इटहरी गाँउपञ्चायत रहँदै करिब तीन विगाह जग्गा प्रशासनिक भवन निर्माणका लागि प्रदान गरेका थिए । सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय रहेको छ । शोक सभामा वोल्दै उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको सम्वृद्धि र विकासका लागि पूरयाएको योगदानको उच्च प्रशंसा गरे । उनले इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने चौधरी परिवारका धर्मनारायण र हेमनारायण चौधरीको सालिक इटहरी अस्पताल परिसरमा भोलीदेखिनै निर्माण सुरु गर्ने बताए ।

उपप्रमुख लक्ष्मी गौतमले स्व चौधरीको योगदानका बारेमा बताउँदै जग्गादाताका नाममा स्मृति भवन,सभा हल बनाउने नीतिगत निर्णय नै भएको जानकारी गराइन् । वडानम्वर ४ का अध्यक्ष चन्द्र भट्टराईले स्व चौधरी दानवीर हुनुका साथै सामाजिक,राजनीतिक व्यक्तित्व समेत रहेको प्रष्ट पारे । स्व चौधरीको परिवारका तर्फबाट सोनेलाल चौधरी र नगेन्द्र चौधरीले उपमहानगरले शोक सभा गरेर शोकविदा समेत दिएकोमा धन्यवाद ज्ञापन गरे ।इटहरी उपमहानगरपालिका, इटहरी अस्पताल,राधाकृष्ण मन्दिर,वुध आइत हटिया लगायतका लागि जग्गा प्रदान गर्ने चौधरी परिवारका हेम नारायण चौधरीको अस्ति उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।