सुन्दरहरैचा : मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टरमा अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता चुनौती प्रतियोगिता आयोजना हुने भएको छ ।
विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।
नेतृत्वकर्ता रिजन दाहालका अनुसार हल्ट चुनौतीमा आफ्नो उद्धम उपायहरूले सन् २०२४ सम्म अर्थात् अबको दुई वर्षभित्र दुई हजार मान्छेलाई रोजगार दिनुपर्ने हुन्छ ।
गत वर्ष शम्भु कट्टेलको नेतृत्वमा आयोजना भएको प्रतियोगितामा यसपटकको प्रतिस्पर्धालाई दाहालले नेतृत्व गर्दैछन् ।
दाहालका अनुसार यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पुर्याउने र उद्यमशीलता समेत पैदा गर्ने भएको हुँदा यसको महत्व छ । हल्टभित्र देखिएको समस्या समाधान भएपछि अब आउने मार्च १५ भित्र क्याम्पसमा हुने प्रतिस्पर्धा सक्नुपर्ने उनले बताए ।
हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिनसक्ने बाटो खोज्न विद्यार्थीहरू लागिपरेको उनी बताउँछन् ।


