विराटनगर, २२ माघ । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेको छ । विराटनगरस्थित संसारी माईस्थानदेखि बी प्लटसम्म युवा संघ र अनेरास्ववियुका युवाहरुले राँके जुलुस निकालेका थिए । स्थानीय निकायको निर्वाचन गर, महंगी नियन्त्रण गर, मन्त्रालय फुटाउने निर्णय खारेज गर लगायतका नारासहित राँके जुलुस निकालेका थिए । संसारी माईस्थानबाट निकालिएको राँके जुलुस बी प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै अनेरास्ववियु उपमहासचिव भाष्कर खनाल, युवा संघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकी, मोरङका पूर्वउपाध्यक्ष किशोर भट्टराई, युवा संघ नेता विनोद चहार, अनेरास्ववियू मोरङका पूर्वउपाध्यक्ष तुलसी घिमिरेलगायतले स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न माग गरे ।
उनीहरुले जनताको ढाड सेक्नेगरी गरिएको पेट्रोलिम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिनुपर्ने र महंगी नियन्त्र गर्न माग गरे । उनीहरुले हालै प्रदेश सरकारले प्रदेश १ मा मन्त्रालयहरु फुटाएर आर्थिक भार बढाउन खोजेकाले उक्त निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा कदम चालिने चेतावनीसमेत दिए ।
त्यस्तै प्रदेश र संघीय सरकार भागबण्डमा केन्द्रीत रहेर देशको ढुकुटी रित्याउन लागि परेको आरोप लगाउँदै त्यसविरुद्ध सवै युवा विद्यार्थीहरु उत्रिनुपर्ने बताए ।
राँके जुलुसमा अनेरास्ववियु केन्द्रीय सदस्यहरु कमल पौडेल, नवराज घिमिरेसहित एमालेका सयौँ कार्यकर्ताको उपस्थिती रहेको थियो । युवा संघ विराटनगर महानगर कमिटी अध्यक्ष किरण लामाको अध्यक्षमा आयोजित अकोणसभालाई अनेरास्ववियु विराटनगर महानगर कमिटी अध्यक्ष कुश थापाले सञ्चालन गरेका थिए ।




