लेटाङ । नेकपा एमालेले मात्र देशको विकास गर्ने भन्दै मोरङको लेटाङ निवासी पूर्वप्रधानपञ्च नीरविक्रम किराँती नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । शुक्रबार भएको नेकपा एमाले लेटाङको पूर्ण वैठकको अवसरमा गरिएको पार्टी प्रवेश कार्यक्रममार्फत तत्कालिन लेटाङ गाउँ पञ्चायतका प्रधानपञ्च किराँती नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सदस्य कृष्णकुमारी निरौला, डिल्ली विक, नन्दलाल धिमाल, लोकबहादुर सुवेदी लगायतले किराँतीलाई खादा तथा अविर लगाएर एमालेमा प्रवेश गराउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै किराँतीले नेकपा एमालेले अवसर पाएको बेला देशको विकासका लागि धेरै काम गरेकाले त्यसबाट प्रभावित भइ आफु एमालेमा प्रवेश गरेको बताउनुभयो । नेकपा एमालेको सिद्धान्त तथा नीति आफुलाई मन परेको भन्दै उहाँले आफु नेकपा एमालेमा प्रवेश गरिरहँदा आफ्ना अन्य शुभचिन्तक र सहयात्रीहरु पनि एमालेसँग जोडिने भएकाले त्यसले एमाले पार्टीलाई अघि बढाउन अझ सहयोग पुग्ने बताउनुभयो । धेरै पहिलेदेखि नै आफुले कुन पार्टी सहि छ भनेर विचार गरिरहेको अवस्थामा नेकपा एमाले नै सहि लागेको भन्दै उहाँले अब एमालेको छत्रछायाँमा रहेर गाउँ नगर र देशको विकासमा अझ कृयाशिल भएर लाग्ने बताउनुभयो । किराँती पञ्चालतकालमा २०३८ सालदेखि लगातार २ कार्यकाल तत्कालिन लेटाङ गाउँ पञ्चायतको प्रधानपञ्च बन्नु भएको थियो । उहाँ लेटाङ क्षेत्रकै पुराना, प्रभावशाली, अग्रज राजनीतिक तथा सामाजिक व्यक्तित्वको रुपमा चिनिनुहुन्छ । किराँतीको एमाले प्रवेशले लेटाङ क्षेत्रमा एमालेको उपस्थिति अझ दरिलो भएको अनुमान गरिएको छ ।
साथै सोही कार्यक्रममा नेपाली कांग्रस, राप्रपा, नेकपा माओवादी केन्द्र र खम्वुवान राष्ट्रिय मोर्चा लगायतका दल परित्याग गरि अन्य व्यक्तिहरु पनि एमालेमा प्रवेश गरेका छन् । जसमध्ये लेटाङ १ बाट नेपाली कांग्रेस परित्याग गरि मोहन लिम्बू एमालेमा प्रवेश गर्नु भएको छ । हाल भोगटेनी माविको व्यवस्थापन समिति अध्यक्ष रहनुका साथै सफल कृषकको रुपमा चिनिनु भएका लिम्बू पुराना कांग्रेस कार्यकर्ता हुनुहुन्छ । यस्तै सोही कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि मिलन याखा, दलबहादुर तामाङ, सन्तोष लिम्बू, सागर राई, कुमार लिम्बू, नेकपा माओवादी केन्द्र परित्याग गरि अञ्जना खड्का, राप्रपा परित्याग गरि लालबहादुर राई, चक्रबहादुर तामाङ, खम्बुवान राष्ट्रिय मोर्चा परित्याग गरि मनकुमारी राई र मनकुमारी राई मगर नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले नगर कमिटी उपाध्यक्ष बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साथै कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर ३ निवासी तोयानाथ कोइराला, रामबहादुर तामाङ र धनकुमार लिम्बूले आफुहरुलाई अन्य पार्टीमा प्रवेश गरेको भनेर प्रचार गरिएकोमा आफुहरु एमालेमै रहेको जानकारी गराउनु भएको थियो । उहाँहरुलाई पनि कार्यक्रममा खादा र अविर लगाएर सम्मान गर्दै एमालेमै रहेकामा धन्यवाद व्यक्त गरिएको थियो । साथै सोही अवसरमा लेटाङ घर भइ चिकित्सा क्षेत्रमा क्रियाशील डा. सुजित दर्नाल र उहाँकी धर्मपत्नीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै डा. दर्नालले लामो समय पार्टीबाट टाढा भएर पुनः पार्टीमा जोडिएको भन्दै अब क्रियाशील भएर लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
पार्टी प्रवेश कार्यक्रम पछि भएको नेकपा एमाले लेटाङको पूर्ण वैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रामलाल शाह, प्रदेश कमिटी सदस्य तथा सांसद् घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सचिव रुपेश खतिवडा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले अब लेटाङमा नेकपा एमालेलाई विजयको झण्डा फराउनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँहरुले तल्लो तहमा पुगेर जनतालाई नेकपा एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरु बारे जानकारी गराउँदै अघि बढ्न निर्देशन समेत दिनुभयो ।


