मोरङका सुरक्षा र विभिन्न कार्यालयका प्रमुखसहितको उपस्थितिमा लेटाङ नगरपालिकामा आज (मङ्गलबार) वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिँदै छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी जनार्दन जिसी, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने लगायतका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सुरक्षा अधिकारीबाहेक सडक, कृषि, पशु स्वास्थ्य, नदी नियन्त्रण, वनसहित विकास पूर्वाधारसँग सम्बन्धित महत्वपूर्ण कार्यालयका प्रमुख र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रमुखहरुको उपस्थिति रहने छ । शान्ति सुरक्षा र विकास व्यवस्थापन लगायत स्थानीय तहका समस्याहरु पहिचान तथा समाधानका सवालमा अन्तरक्रिया हुन लागेको प्रजिअ दाहालले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय र लेटाङ नगरपालिकाको संयुक्त आयोजनामा वृहत अन्तरक्रिया हुने भएको हो । 

कार्यक्रममा नगर क्षेत्रको शान्ति सुरक्षाको अवस्था, सेवा प्रवाह, विकास निर्माण, वन व्यवस्थान, सडक पूर्वाधार र  अवस्थाका बारेमा छलफल हुने छ । प्रजिअ दाहालका अनुसार नगर क्षेत्रभित्रको समस्याको पहिचान गर्दै समाधानका लागि सहजीकरण गर्ने कार्यक्रमको मुख्य उदेश्य छ । कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय तथा सहकार्यबाट स्थानीय जनताको आवश्यकता परिपूर्ति गर्नका लागि भावी रणनीतिमा मद्धत पुग्ने र सहज हुने अपेक्षा गरिएको छ ।