इटहरी  भ्वाईस अफ चिल्ड्रेन सुनसरीले सेभ द चिल्ड्रेनको सहयोग र ईटहरी उप-महानगरपालिकाको समन्वयमा विपद्मा बाल संरक्षण गर्न अन्य क्षेत्रहरुसँगको समन्वयका लागि बालक्लब तथा बालसञ्जालहरुको भूमिका विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा नगर बाल सञ्जाल ईटहरीका पवन कुमार विष्टले विपद्को समयमा सञ्जालले गरेका कार्यसहित हासम्म गरेका कार्यहरु प्रस्तुत गर्नु भएको थियो भने ईटहरी उपमहानगरपालिका सामाजिक विकास अधिकृत श्री शुशिला कार्कीले नगरले विपद्को समयमा बालबालिकाको लागि गरेका कार्यहरुबारे प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी बालबालिकाले नगरले गरेका कार्यहरुमा जिज्ञासा समेत राखेका थिए भने नगरले जहिले पनि बालसंरक्षणमा हातेमालो गरेर काम गर्ने बताउनु भयो । बालसंरक्षणमा २२ बर्षदेखि कार्यरत संस्था भ्वाईस अफ चिल्ड्रेनले सुनसरी जिल्ला लगायत प्रदेश नं १ भरी कार्यक्रम गरीरहेको कुरा सुनसरीका संयोजक भरत थापाले बताउनु भयो । 

CPiE

कार्यक्रममा विपद्को समयमा अन्य संघसंस्थाहरुसँगको सहकार्य आवश्यक भएको र सो सहकार्यका लागि नगरपालिका र बालसञ्जालले समन्वय गर्न आवश्यक भएको कुरा भ्वाईस अफ चिल्ड्रेनका उप निर्देशक राजु घिमिरेले बताउनु भयो । बिशेषगरी बाढी, पहिरो, डुबान, शितलहर, आगलागी, चट्याङ्ग आदि जस्ता कारणले बालबालिका बढी प्रभावित हुन्छन् र यस्तो समयमा उनीहरु नै दुव्र्यवहार, शोषण, हिंसा, बेचबिखन, ओसारपसार, आदिको जोखिममा पर्ने गर्दछन् । त्यसैले विपद्को समयमा अन्य समयको भन्दा बालबालिकासँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले सक्रिय रुपमा काम गर्नु पर्ने कुरा संस्थाका उप निर्देशकले बताउनु भयो ।