उदयपुर / उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाइकलले ठक्कर दिँदा बुधबार राति एक जना पैदल यात्रीको मृत्यु भएको छ । गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको स १ ब ८९७ नम्बरको सरकारी मोटरसाइकलले उदयपुरको त्रियुगा नगरपालिका–६ मा पैदल यात्री पुरुषलाई ठक्कर दिँदा दुर्घटना भएको हो । राति ८ः२० बजेतिर भएको दुर्घटनामा परेर अन्दाजी ५० वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि विराटनगरतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो । दुर्घटनामा परेर मोटरसाइकल चालक त्रियुगा–६ का वडाध्यक्ष ४० वर्षीय निर्मल चौधरी पनि सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगरतर्फ ल्याइएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । वडाध्यक्षले तीव्र गतिमा चलाएको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । त्यस्तै दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५९९८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा झापाको अर्जुनधारा नगरपालिका–९ मा एक जना वृद्धा महिलाको मृत्यु भएको छ । पैदल यात्री वृद्धालाई राति ८ बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर अर्जुनधारा–९ की ७८ वर्षीया शिवमाया दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिर्तामोडको बि एन्ड सी अस्पतालमा राति १२ बजेतिर मृत्यु भएको हो । प्रहरीले दुर्घटनालगत्तै फरार बनेका मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ का २१ वर्षीय प्रेम गुरुङको खोजी तीव्र पारिएको जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हो ।


