इटहरी । इटहरी २ स्थित माया घर सञ्चालन सहयोगार्थ जारी पुराणमा कलाकार मनोज गजुरेलले हाँस्य प्रस्तुती दिएका छन् । मंगलबार साँझ उनले सहभागिहरुमाझ हाँस्य प्रस्तुती पस्केका हुन् ।

सात दिने ऐतिहासिक श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञकी कथावाचिका तथा माया घरकी अध्यक्ष राधिका दासीले खचाखच भरिएको कार्यक्रममा गजुरेललाई स्वागत गरेकी थिइन् । 

कार्यक्रममा गजुरेलले हाँस्य प्रस्तुतीसँगै सामाजिक सन्देशसमेत दिएका थिए । उनले कोरोना महामारीमा एक जना साधुसँगको प्रसंग सुनाउँदै भगवान जुनसुकै स्वरुपमा सकारात्मक सन्देश दिन आउने बताए । ‘एकजना साधुलाई कोरोना महामारीमा सुरक्षित हुन विभिन्न मानिसले सल्लाह दिएपनि उनले आफू भगवानको भक्त भएको र आफूलाई भगवानले बचाउने भन्दै बसे, तर अन्तीममा उनको कोरोना लागेर मृत्यु भयो,’ उनले कथा सुनाए, ‘आफू नै विभिन्न स्वरुपमा साधुलाई सम्झाउन पुगेको भनेर पछि स्वर्गमा भगवानले बताएपछि साधु छक्क परेका थिए ।’

उनले सामाजिक काम गर्ने जोसुकै पनि भगवानको प्रतिनिधि भएको बताउँदै मायाघरको निर्माण र सञ्चालनमा राज्यका साथै स्थानीयहरु जुट्नुपर्ने बताए । 

कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमसमेत उपस्थित थिइन् । उनले मायाघरको निर्माण तथा व्यवस्थापनमा उपमहानगरपालिकाले पनि सक्दो सहयोग गरेको बताउँदै आगामी दिनमा पनि आफू मायाघरको संरक्षण र संबद्र्धनमा जुटीरहने बताइन् ।

सोमबार नै पुर्व उप–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विजयकुमार गच्छदारसहित एक दर्जन बढि नेताहरूले मायाघरको अवलोकन गरेका थिए । गच्छदार सहित कांग्रेसकी केन्द्रिय सदस्य कल्पना चौधरी, दुहबी नगरपालिकाका मेयर वेदकुमार गच्छदार, सुनसरी क्षेत्र नं. ३ का सभापति मेहदि हुसैन, प्रदेश १ का कांग्रेस नेता दिपक ढकाल, इटहरी उपमहानगर उपसभापति कोविदजंग कार्कि, कांग्रेस नेता रोहित प्रसाइ लगायतले अवलोकन गरेका थिए ।

मायाघर सञ्चालनको लागि अक्षयकोष स्थापना गर्न महायज्ञको आयोजना गरिएको हो । महायज्ञबाट १ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ । 

मायाघर नेपालले विभिन्न कारणले सडकमा आएका महिला, पुरुष तथा बालबालिकाहरुलाई उद्धार गरेर आश्रय दिने काम गर्छ । कतिपयलाई उनीहरुको घरमा पुनर्मिलन गराइसकेको छ भने घर फर्कन नसक्नेलाई सीप तथा शिक्षा दिएर आत्मनिर्भर बनाउनसमेत सहयोग गरिरहेको छ । सडकमा आउने धेरैजसो मानिसहरु मानसिक रुपमा विक्षिप्तसमेत हुने गरेकोले उनीहरुको उपचारको लागिसमेत मायाघरले सक्रियता देखाउँदै आएको छ । अहिले एक सय बढी महिलाहरु मायाघरमा आश्रय लिइरहेको मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।