सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ७ बेलगाछीकी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । गत शुक्रबार साँझ घर नजिकैको झाडीमा सिकिस्त अवस्थामा भेटिएकी बालिकाको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएकोमा ती बालिकाको बलत्कारपछि हत्या भएको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार घटनमा संलग्न अभियुक्तलाई सार्वजनिक गर्दै बलात्कारपछि हत्या भएको पाइएको जनाएको हो ।

 

घटना संलग्न भएका सुन्दरहरैंचा ७ बस्ने २५ वर्षीय अजय चौधरी र उनका दाजू २८ वर्षीय मिथुन चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान गरेकोमा उनीहरु नै घटनामा संलग्न रहेको पाइएको मोरङ प्रहरीले जानकारी दिएको छ । उनीहरु विरुद्ध मोरङ जिल्ला अदालतबाट जवरजस्ती करणी गरी कर्तब्य गरी मारेको ज्यान सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरि थप अनुशसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सुन्दरहरैंचा ७ डेरा गरि बस्दै आएको मण्डल परिवारको डेढ वर्षकी बच्ची शुक्रबार साँझ घरबाट हराएपछि खोजी गर्दा घर जनिकैको झाडीमा बेहोस अवस्थामा फेला परेकोमा तत्काल उद्धार गरि स्थानीय मेडिकलमा उपचारका लागि लैजाँदा शरीरका विभिन्न अंगहरुमा चोटपटक तथा योनिबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरि अस्पताल लगिएको थियो । त्यसपछि तत्काल उपचारार्थ नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राती नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

घटनाको विरोधमा स्थानीयबासीले शनिबार गछिया प्रहरी चौकी घेराउ गरेका थिए । मृतक बालिकाको शव वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरि शनिबार साँझ सद्गत गरिएको थियो । पछिल्लो समय मोरङमा बलत्कार र हत्याका घटनामा वृद्धि भएको छ । मोरङकै लेटाङमा विद्यालयबाट घर फर्कंदै गरेकी बालिकाको बलत्कारपछि हत्या भएको घटना सेलाउँन नपाउँदै सुन्दरहरैंचामा सोही प्रकारको घटना सार्वजनिक भएको छ ।