संखुवासभा । श्रीमानले नक्कली प्रहरी परिचालन गरेर आफ्नै श्रीमतीको अपहरण गराएका छन् । अपहरण गराएकी महिलालाई नक्कली प्रहरीहरुले जंगलमा लगेर श्रीमानको जिम्मा लगाएका थिए ।
संखुवासभाको खाँदबारी नगरपालिका–८ मा अपहरण गर्न परिचालन गरिएका एक जना नक्कली प्रहरीसहित श्रीमान पक्राउ परेका छन् ।
स्थानीय रमेशकुमार तामाङले गत फागुन २७ गते आफ्नी श्रीमती प्रमिला कम्मर सार्कीको अपहरण गराएका थिए । घटनामा संलग्न नक्कली प्रहरी पाँखपन नगरपालिका ४ का अर्जुन तामाङसमेत पक्राउ परेका छन् । उनीबाट नक्कली प्रहरीको पोसाकसमेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार घटनामा थप तीन जना व्यक्ति संलग्न छन् । उनीहरुले प्रमिलालाई घरबाट करिब एक सय मिटर पर जंगलमा लगेर श्रीमान् रमेश कुमार तामाङको जिम्मा लगाएका थिए ।
त्यसपछि रमेशले शारीरिक तथा मानसिक यातना दिएका थिए । रमेश र प्रमीलाबीच विगत ६ महिनादेखि मनमुटाव थियो । घटनाको भोलिपल्ट प्रमिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । नक्कली प्रहरी बन्नेहरुले काठमाडौंबाट नक्कली प्रहरीका पोसाक प्रति जोर प्रतिदिन पाँच सयका दरले भाडामा ल्याएका थिए ।


