मोरङको लेटाङमा आइतबार प्रर्दशनकारीको आक्रमणबाट ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले अन्तिम बिदाइ गरेर शव परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रदेश प्रहरीले अन्तिम सलामी अर्पण गरेको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार बिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए।
प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिवारले शव लिएर गएको छ। उनको अन्त्येष्टि उदयपुरमै गर्ने तयारी छ।
उर्मिला २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरकी थिईन । १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङ पुगेको थियो ।
शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै पुगेर यौन दुर्व्यवहार गरेको विषयमा तनाव हुँदा प्रदर्शनकारीको आक्रमणबाट श्रेष्ठको मृत्यु भएको थियो । उनको घाँटीमा धारिलो हतियारबाट आक्रमण भएको थियो ।
यता प्रहरीमाथि आक्रमण गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।


