मुम्बई । पछिल्लो समय बलिउड र साउथ स्टारको कोल्याबरेसनमा चलचित्र निर्माण भइरहेका छन् । महाराष्ट्रमा साउथ चलचित्रले दर्शक पनि पाइरहेको छन् । बाहुबली, केजीएफपछि गत हप्तामात्रै रिलिज भएको चलचित्र ‘आरआरआर’ले महाराष्ट्रमा आक्रमक व्यापार गरिरहेको छ । जसका कारण सलमान खान दंग छन् । र, जिज्ञासु पनि ।
साउथ स्टार चिरञ्जीवीसँग काम गरेको अनुभव सुनाउँदै सलमान जिज्ञासा राख्छन्, “उनीसँग काम गरको राम्रो अनुभव भयो । म चिरू गारूलाई लामो समयदेखि चिन्थेँ । उनी र उनका छोरा (रामचरण) मेरा साथी पनि हुन् । उनले आरआरआरमा गज्जबको काम गरेका छन् । मैले उनको जन्मदिनमा शुभकामना दिँदै सफलताका लागि बधाई पनि दिएको थिएँ । मलाई उनीमाथि गर्व छ । उनले गरेको काम देखेर मलाई आनन्द लाग्छ । तर, मलाई अच्चम लाग्छ कि हाम्रो चलचित्रले साउथमा किन राम्रो पफर्मेन्स दिन सक्दैनन् । जबकी उहाँहरूको चलचित्रले यहाँ राम्रो पफर्मेन्स दिन्छन् ।”
सलमानले प्रश्न मात्रै गरेनन्् समाधानतर्फ पनि सचेत गराए । सलमानले बलिउडमा ‘हिरोइज्म’ चलचित्र बन्न जरुरी भएको बताए ।
“उनीहरू (साउथ फिल्म इन्डस्ट्रि)ले सधैँ हिरोइज्ममा विश्वास गर्छन् । जुन हामीले पनि गरेका छौँ । तपाईं हलबाट बाहिर निस्किँदा ‘हिरोइज्म’को जरुरत छ । यहाँ हामी एक÷दुई जनाबाहेक वीरताको चलचित्र बनाइरहेका छैनौँ । हामीले लार्जर देन लाइफवाला हिरोइज्म चलचित्रमा फेरी सुरु गर्न आवश्यक छ । म यही गरिरहेको छु । यद्यपि, मलाई लाग्छ कि हिजोआज मानिस ‘कुल’ भएर सोच्छन् कि म घिसी–पिटा भएँ ।”
सलमानले हालै मुम्बईंमा सम्पन्न भएको आईआईएफए अवार्ड–२०२२ को पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
आईआईएफए अवार्ड यही वर्षको मे २० र २१ मा आबुधाबीको यास आइल्यान्डमा आयोजना हुँदै छ ।


